शिक्षामा प्रविधिको प्रयोग : सीसी क्यामेरा जडानपछि सजिलो

असार २२, २०८२

महेश केसी

Use of technology in education: Easier after installation of CC cameras

रुकुम पूर्व — सिस्ने गाउँपालिका-३ को जनता माध्यामिक विद्यालय, पोखराका प्रधानाध्यापक कलु खड्कालाई काम विशेषले विद्यालयबाहिर रहँदा पनि विद्यालयमा भैरहेको पठनपाठन र विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहज भएको छ । कारण हो, विद्यालयमा दोहोरो संवाद गर्न मिल्ने सीसी क्यामेरा जडान ।

गत असारको पहिलो साता गाउँपालिकाद्वारा विद्यालयका सबै कक्षाकोठा, कार्यालय, स्टाफ रुम, विज्ञान प्रयोगशालासहित विद्यालय परिसरमा गरी २८ वटा क्यामेरा जडान गरिएको थियो । त्यसपछि आफू जहाँ भए पनि विद्यालयका गतिविधिमा प्रत्यक्ष निगरानी राख्न सहज भएको प्रधानाध्यापक खड्काले बताए ।

‘आफू वा विद्यालयका अन्य कुनै स्टाफ काम विशेषले बाहिर जानुपर्दा विद्यालयको अवस्था बुझ्न फोन गर्नुपर्थ्यो । तर सीसी क्यामेरा जडान भएपछि निकै सहज भएको छ,’ प्रधानाध्यापक खड्काले भने, ‘हामीसँग जडान गरिएको क्यामेराबाट हेर्न मात्र नभई उताको आवाज सुन्न र यताबाट कुरा गर्न सकिने सुविधा पनि छ । यसले झन् सजिलो बनाएको छ ।’

Use of technology in education: Easier after installation of CC camerasविद्यालयबाहिर रहेका बेला सीसी क्यामेरामा कैद भएको कक्षाकोठाको दृश्य प्रत्यक्ष अवलोकन गर्दै जनता मावि पोखराका प्रधानाध्यापक कलु खड्का । तस्बिरः महेश केसी/कान्तिपुर

इन्टरनेट उपलब्ध भएमा आवश्यक प्राविधिक संयोजन मिलाएपछि यस किसिमको सीसी क्यामेरामार्फत हेर्न, सुन्न र कुराकानी गर्न सकिन्छ । यसले कुन कक्षामा के भइरहेको छ, विद्यार्थीहरू के गरिरहेका छन्, कक्षा शिक्षकले आफ्नो जिम्मेवारी कसरी पूरा गरिरहेका छन् भन्नेबारे प्रत्यक्ष निगरानी गर्न सकिने खड्काको भनाइ छ ।

त्यस्तै, प्रत्येक कक्षामा कुनै सूचना दिनुपर्ने वा निर्देशन गर्नुपर्ने अवस्था आएमा सूचनादाता कक्षा कोठामा जानुको सट्टा जहाँ छन्, त्यहीँबाट जानकारी दिन सक्ने गरिएको उनले बताए । ‘यसले गर्दा शिक्षक र विद्यार्थी दुवैमा सचेतना बढेको छ । साथै विद्यालय परिसरमा हुने विभिन्न गलत क्रियाकलापको निगरानी र त्यसविरुद्ध कारबाही गर्न पनि सहज भएको छ,’ उनले थपे ।

जनता माध्यामिक विद्यालय, पोखराका साथै सिस्ने गाउँपालिका–५ मा अवस्थित रुक्मिणी माध्यामिक विद्यालयमा पनि सीसी क्यामेरा जडान गरिएपछि सजिलो भएको त्यहाँका प्रधानाध्यापक चन्द्रबहादुर मल्लले बताए । केही वर्षअघि उक्त विद्यालयमा क्यामेरा जडान गरिएको उल्लेख गर्दै मल्लले प्रत्येक कक्षाकोठा, कार्यालय, स्टाफ रुम, विज्ञान प्रयोगशाला र कार्यालय परिसरमा क्यामेरा जडान गरिएको जानकारी दिए ।

‘हाम्रो विद्यालयमा जडान गरिएका क्यामेराबाट हेर्न मात्रै मिल्छ, दोहोरो संवाद गर्न मिल्दैन । तर यति भए पनि धेरै सहज भएको छ । क्यामेरामा देखिने भएपछि विद्यार्थी, शिक्षकलगायत विद्यालयमा रहेका सबैमा सचेतना बढेको छ,’ प्रधानाध्यापक मल्लले भने, ‘यसले अपेक्षित परिणाम प्राप्त गर्न र पठनपाठन सुधार गर्न सहयोग गरेको छ ।’

सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा जनता माविमा पाँच लाख रुपैयाँ बराबरको सीसी क्यामेरा जडान गरिएको र रुक्मिणी माविमा संघीय सरकारको नमुना विद्यालय कार्यक्रमको बजेटबाट जडान गरिएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मंगलसिंह बुढाले बताए ।

आगामी दिनमा गाउँपालिकाभित्रका अन्य विद्यालयहरूलाई पनि प्रविधिमैत्री बनाउने योजना रहेको शाखा प्रमुख बुढाको भनाइ छ । सिस्ने गाउँपालिकामा हाल ४० वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालय छन् ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully