बाघको छालासहित ३ जना पक्राउ

असार २२, २०८२

दुर्गालाल केसी

3 people arrested with tiger skin

दाङ — गढवा गाउँपालिकाबाट प्रहरीले शनिबार राति बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ । वन्यजन्तुको छालाको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी निरीक्षक रोशनराज पाण्डेयको कमान्डमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

गढवा गाउँपालिका वडा नं. ६ खवरी गाउँस्थित ४१ वर्षीय विक्रम बुढामगरको घरमा लुकीछिपी बाघको छालाको अवैध कारोबार गरिरहेकै अवस्थामा बुढामगरसहित राजपुर गाउँपालिका वडा नं. १ गुरुङखोलाका ५३ वर्षीय केशवराज सेन ठकुरी र बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ४ पदनाहका ३३ वर्षीय अनिल थारूलाई पक्राउ गरिएको पाण्डेयले बताए ।

उक्त घरको माथिल्लो तलामा लुकाईछिपाई राखिएको शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च लम्बाइ र ३ फिट २ इञ्च चौडाइ भएको पाटे बाघको छाला फेला परेको जानकारी उनले दिए । उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully