बर्दिया कारागारका कैदीको सिरानीमुनिबाट गाँजा बरामद

असार २१, २०८२

कमल पन्थी

Marijuana recovered from under the pillow of an inmate of Bardia Jail

बर्दिया — जिल्ला कारागारका कैदीको विस्तारामुनिबाट गाँजा बरामद भएको छ। प्रहरीको कडा निगरानीबीच कारागार भित्रै गाँजा कसरी कैदीको विस्तारामा पुग्यो भन्दै प्रशासनले अनुसन्धान सुरु गरेको जनाएको छ ।

हालै सरुवा भई आएका जिल्ला कारागारका प्रमुख मानबहादुर सारुले कर्तव्य ज्यान मुद्दामा सजाय भोग्दै आएका सोहन ढकालको विस्तारमुनिबाट ५ ग्राम गाँजा फेला पारेको बताए। 'गाँजा आफैँ राखेका हुन् वा कसैले राखिदिएको हो? अनुसन्धान भइरहेको छ,' उनले भने।

कारागार प्रमुख सारुले ढकालको विस्तारामुनि बरामद गरिएको गाँजाका सम्बन्धमा लागूऔषध सम्बन्धी मुद्दा दायर गरिएको बताए। करिब तीन वर्ष अघि कारागारभित्र लागूऔषधको कारोबार भएको भन्दै एक पाकिस्तानी नागरिकसहित केही कैदीलाई काठमाडौँस्थित कारागारमा स्थान्तरण गरिएको थियो । 

बर्दिया कारागारको क्षमताअनुसार १ सय २५ जना पुरुष बस्ने भएपनि हाल ३ सय ७५ जना कैदी र थुनुवा रहेका छन्। तीमध्ये कैदी ३ सय १४ र थुनुवा ६१ जना रहेका छन्। महिला कैदीका लागि छुट्टै त्यसै ठाउँमा कारागार रहेको छ। महिला कैदी २८ र थुनुवा २० गरी ४८ जना रहेका छन्। प्रहरीको विधिविज्ञान प्रयोगशाला काठमाडौँमा बरामद गरिएको गाँजा अनुसन्धानका लागि पठाउने भएको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully