सिद्धार्थ राजमार्ग जोगाउन प्लाष्टिक ओढाएर राखियो
पाल्पा — वर्षायाम सुरु भएसँगै सिद्धार्थ राजमार्गलगायत पाल्पाका मुख्य सडक एकतर्फी सञ्चालनमा छ । सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–५, चर्चरे र गौडे पुल बीचको भागमा दुई वर्षअघि खसेको पहिरो व्यवस्थापन नहुँदा सवारी साधन एकतर्फी सञ्चालन गर्नुपरेको हो ।
‘दुई वर्षअघि सुरुमा सामान्य भासिएको थियो,’ बुटवल–तानसेन सडकका बस चालक कृष्ण बहादुर रानाले भने, ‘अहिले त राजमार्ग नै खस्ने हो कि भन्ने जोखिम छ ।’
समयमै सडक डिभिजन पाल्पाले पहिरो जोखिम व्यवथापन नगर्दा अहिले थप जोखिम बढाएको छ । सामान्य वर्षा हुँदासमेत पहिरो खसेपछि अहिले दुई सातादेखि प्लाष्टिक ओढाएर राखिएको छ । ‘रातिको २ बजे गएर प्लाष्टिक ओढाएर आएको हो,’ पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने, ‘राजमार्गको अहिले ठूलो जोखिम क्षेत्र चर्चरे र गौडे पुलबीचको यही पहिरो हुने देखिएको छ ।’
राजमार्गको सिद्धबाबा क्षेत्र, झुम्सा, पानीमिल, हिउँदेखोला, डुम्रे, बर्तुङ नजिकैको क्षेत्र पनि जोखिम छ । पिपलडाँडाको सेरा क्षेत्रमा पनि सामान्य वर्षामासमेत गेग्रान खसेर बन्द हुने अवस्थामा छ । प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार पहिरो व्यवस्थापनका लागि सडक डिभिजनले ठेक्का लगाएको देखिएको छ ।
तर काम गर्न निर्माण व्यवसायीले ढिलाई गर्दा यो वर्षामा जोखिम थप बढेको उनले बताए । सडक डिभिजन कार्यालय अन्तर्गत भगवती कन्स्ट्रक्शनलेचर्चरे नजिकै प्लम कंक्रिट वाल लगाउने ठेक्का लिएको थियो । यो वाल लगायत राजमार्गका विभिन्न स्थानमा सडकमा ढलानको काम लिएको कन्स्ट्रक्शनले २०८१ मंसिर २८ गते असार १५ भित्र काम सक्नेगरी ठेक्का लिएको सडक डिभिजनका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए ।
उनका अनुसार राजमार्गको केराबारी, पानीमिल, सिसुवा, कालीमाटी लगायतका स्थानमा ढलानसमेत गरी १ करोड ३१ लाख ६९ हजारमा ठेक्का सम्झौता भएको छ । यही पहिरो नियन्त्रणका लागि ४२ लाख लागत इष्टिमेट थियो । निर्माण व्यवसायीले ७ महिनासम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति गरेको उनले बताए ।
असार लागिसकेपछि काम गर्छु भन्दै डुम्रे खोला (तिनाउ) मा एक्साभेटर, ट्याक्टर लगेपछि गाउँपालिकाले ढुगा निकाल्न रोक लगाएको छ । ‘ठेक्का लिएको काम निर्माण व्यवसायीले ७ महिनासम्म नगर्दा यसवर्ष पनि पहिरो समयमै नियन्त्रण हुन नसक्दा वर्षायाममा यात्रुले सास्ती बेहोर्नुपर्ने हुनसक्छ,’ अनुगमनमा पुगेर फर्केका जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले भने, ‘हिउँदेखोलामा समाधान गरेको देखिएको छ तर नयाँ स्थानमा थप समस्या देखिएको छ ।’
राजमार्गमा खोलाको तल्लो भागदेखि खसेको पहिरो नियन्त्रणको काम समयमा नगरेको उनले बताए । वर्षा लामो समय हुने हो भने सबै सडक खोलामा खस्ने खतरा पनि देखिएको छ । दुई वर्ष अघि पनि सामान्य पहिरो खस्दा नियन्त्रणको प्रयास सडक डिभिजनले गरेको थियो । पहिरो खस्न तीन वर्ष अघि नै सुरु भएको हो । तल्लो क्षेत्रबाट खोलाले कटान गर्दै आएको र सामान्य पहिरो खसेको थियो ।
सडक डिभिजनले २० लाख बढी खर्चेर निर्माण गरेको तटबन्धसमेत खसेको छ ।
सोही पहिरोमा पुनः ठेक्का लगाए पनि समयमा काम हुन सकेको छैन । राजमार्ग क्षेत्रमा एकतर्फी मात्र सवारीसाधन गुडाउन मिल्ने अवस्था छ । ठेक्का भएपछि तत्कालै काम गरेको भए सडकको पहिरो रोकिन्थ्यो । पहिरो गएको क्षेत्रमा सडकको माथिल्लो भागबाट सडक चौडा गर्ने अवस्था छैन । तल्लो भागमा खोलाबाटै पर्खाल उठाएर सडक जोगाउनुपर्ने अवस्था छ ।
कालीगण्डकी करिडोर सडक अन्तर्गत रम्भा गाउँपालिका–१, हुँगी असेर्दी, रामपुर नगरपालिका–१, स्यालीबजार नजिकै सकड एकतर्फी छ । कालीगण्डकी करिडोर अन्तर्गत तानसेन नगरपालिका–१४, अर्गली गाइघाटमा पनि सडक एकतर्फी छ । आर्यभन्ज्याङ्–ताहुँ–रामपुर ४९ किलोमिटर सडकअन्तर्गत चिदीपानी, हुमीन, सेफद, सिलुवा लगायतका स्थान पहिरोको जोखिम छ ।
अहिले पनि सडक एकतर्फी रहेको छ । सडकका विभिन्न स्थानमा गतवर्ष खसेको पहिरोसमेत नियन्त्रण गरिएको छैन । ‘सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको छ,’ रम्भा गाउँपालिका–४, की विष्णुमाया थापाले भनिन्, ‘समयमा डोजर नआउँदा दुई तीन घण्टा बढी यातायात अवरुद्ध हुने गरेको छ ।’
रातिमा यात्रा नगर्न प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय पाल्पाले मनसुनजन्य विपतबाट जोगिन रातिको समयमा यात्रा नर्गन आग्रह गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा–राम्दी सडक खण्ड, तानसेन (पाल्पा)–रिडी– गुल्मी तम्घास सडकको तानसेन–रिडी खण्ड, रामपुर–हुमिन–ताँहु–आर्यभञ्याङ् सडक खण्ड, हार्थोक–छहरा–तिनगिरे अर्घाखाँची सडक खण्डमा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले यो बाहेक अन्य मुख्य सहायक मार्ग तथा ग्रामीण सडकहरुमा पहिरो तथा ढुङ्गा खसेर दुर्घटना हुनसक्ने भएकाले रातिको समयमा यात्रा नगर्न आग्रह गरिएको बताए ।
मनसुनजन्य प्रकोपका कारण आगामी भदौ महिनाको मसान्तसम्म ठूलो वर्षातका कारण पहिरो गई सडक अवरुद्ध हुनसक्ने, ढुंगा खस्न सक्ने र सुख्खा पहिरो समेत गै यात्रु र सवारी साधनमा समेत ठूलो क्षति हुनसक्ने संभावना भएकोले जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार आग्रह गरिएको उनले बताए ।
‘सुरक्षा, यातायात व्यवसायी, सरोकारवाला सहितको सर्वपक्षीय बैठकको निर्णय समेतका आधारमा स्थानीय सुरक्षा निकायबाट मौसमको पूर्वानुमानको आकलन/प्रक्षेपण तथा वर्षा/पानी परिरहेको परिस्थितिमा यात्रा नगर्दा नै सुरक्षित भइन्छ,’ सहायक प्रजिअ सुवेदीले भने, ‘जुनसुकै समयमा र मूलतः रात्रीको समयमा सवारी साधन चलाउन पूर्ण रुपले निषेध गरी रोक लगाइनसक्ने भएकोले उक्त मनसुन अवधिमा सार्वजनिक निजी समेतका सवारी साधन नचलाउन आग्रह गरेको हो ।’
