तिलोत्तमा — रुपन्देहीको रोहिणी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई साइकल उपहार दिएको छ ।
पालिकाले शनिबार एक कार्यक्रमकाबीच २०८१ सालको एसईई परीक्षामा रोहिणीभित्र रहेका सामुदायिकबाट १ सय २६ तथा धार्मिक विद्यालयबाट ३ गरी १ सय २९ जना विद्यार्थीलाई साइकल दिएको हो । विद्यार्थीलाई पढाईमा थप हौसला प्रदान गर्न र अध्ययनतर्फ प्रेरित गर्ने उद्देश्यले साइकल वितरण गरिएको अध्यक्ष विद्याप्रसाद यादवले बताए ।
अघिल्लो वर्षभन्दा यसवर्ष सामुदायिक विद्यालयको नतिजामा सुधार भएको भन्दै उनले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक र गाउँपालिकालाई मात्र दोष नदिई अभिभावक र विद्यार्थीले समेत मिहिनेत गर्नुपर्ने जनाए । एसईईमा छिपागढ माविबाट ३ दशमलव ६६ जीपीए ल्याउने अस्मिता यादव गाउँपालिका प्रथम र पिपरहवा माविबाट ३ दशमलव ६५ जीपीए ल्याउने साधना यादव द्वितीय भएका छन् ।
रोहणीमा सामुदायिकतर्फबाट ३ सय ८० तथा धार्मिकबाट १८ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए ।
