मध्यवर्ती क्षेत्रको अध्यक्षमा आचार्य निर्वाचित

असार २०, २०८२

कमल पन्थी

Acharya was elected as the president of the intermediate region

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा हेमन्त आचार्य निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा कुल १९ मतमध्ये ११ मत प्राप्त गरी आचार्य अध्यक्षमा निर्वाचित भएका हुन्।


उनका प्रतिद्वन्द्वी चन्द्रकला बुढाले ६ र मीन बहादुर साउतले २ मत प्राप्त गरे। आचार्य लामो समयदेखि चोरी सिकार नियन्त्रण युवा परिचालनका अध्यक्ष र प्रकृति पथप्रदर्शक भएर काम गरेका छन्।


बर्दिया निकुञ्जअन्तर्गत ५ सय ४ वर्ग किमी क्षेत्रफल मध्यवर्ती क्षेत्रको रहेको छ। १ सय ४८ वटा मध्यवर्ती सामुदायिक वन रहेको छ। तीमध्ये २ सय ४० समूहमा २ सय ३५ बर्दिया, सुर्खेत ४ र बाँकेको १ रहेका छन्।


आचार्यका बुबा दुई कार्यकाल मध्यवर्ती क्षेत्रको अध्यक्ष भएर काम गरेका थिए। २०६७ साल असोज २६ गते हात्तीको आक्रमणमा उनको मृत्यु भएको थियो। हेमन्त बुबालाई हात्तीले मारे पनि उनी वन्यजन्तुको संरक्षणमा लागेका हुन्। 


निर्वाचित आचार्यले पहिलो काम मानव वन्यजन्तु बीच द्धन्द न्यूनीकरणमा समन्वय गरी समस्या समाधान गर्ने बताए । पाँच वर्ष कार्यकाल रहने अध्यक्षसहित सदस्य सचिव निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहित १९ जना सदस्य रहेका छन्।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully