कालीगण्डकीको झोलुंगे पुलमा अड्किएको रुख विज्ञ टोली झिकाएर हटाइयो

असार २०, २०८२

माधव अर्याल

A tree stuck on the suspension bridge of Kaligandaki was removed by a team of experts

पाल्पा — कालीगण्डकी नदीको बाढीले रामपुर नगरपालिका–१०, गेझा होस्तीको झोलुंगे पुलको लट्ठामा अड्किएको रुख हटाइएको छ । पाल्पा–स्याङ्जा जोड्ने कालीगण्डकी नदीमा निर्मित झोलुङ्गे पुलको सपोर्ट लट्ठा कालीगण्डकी नदीको बाढीसँगै कटान हुँदा रुखले चुँडाएको थियो । 

लट्ठा चुँडाएपछि दुई सातायता झोलुङ्गे पुलबाट यात्रा गर्नसमेत कठिनाइ भएपछि स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनबाट प्राविधिक झिकाएर पुलको लट्ठा व्यवस्थापन गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए । ब्रिज डिभिजनका सिनियर डिभिजनल इन्जियिनर प्रेमनारायण बस्यालको नेतृत्वमा आएको प्राविधिक समूहले रुख हटाएर जोखिममुक्त बनाएको हो । 

झोलुंगे पुलको ट्रस वा गर्डरहरुलाई साइडमा हल्लिन नदिन बाँधेर राख्ने (विन्ड गाई ब्लक) मा  क्षति पुगेकाले नदीमा भेल कम भएपछि मात्रै मर्मत गर्न सकिने इन्जिनियर बस्यालले बताए । ‘अहिलेलाई झोलुंगे पुलको लट्ठामा अड्किएको रुख हटाएर जोखिमबाट मुक्त बनाएको मात्रै हो,’ उनले भने, ‘यस पुलको मर्मत वर्षायामको भेल कम भएपछि मात्र गर्न सकिन्छ ।’ ्A tree stuck on the suspension bridge of Kaligandaki was removed by a team of experts

हावाको कारण हुने कम्पन वा कम्पनजन्य क्षतिबाटै रोक्न र पुलको लम्बाइमा स्थिरता दिनका लागि साइडमा लट्ठा राखिएको हुन्छ । नदीको भेल कम भइसकेपछि लट्ठालाई वारपार गराउनुपर्ने उनले बताए । विन्ड गाई ब्लकसमेत मर्मत गर्नुपर्ने हुन्छ भने विन्ड टाई फेर्नुपर्ने भएकाले थप समय लाग्ने बस्यालले बताए । 

नदी कटानबाट ढलेको रुखले विन्ड गाई फुटालेको छ । अहिलेलाई सर्वसाधारणलाई हिँड्न मिल्ने बनाएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले बताए । नदी कटानबाट ढलेको रुख लट्ठामा अड्किएपछि झोलुंगे पुल नै ढल्केको थियो । प्राविधिकले मर्मत गरेपछि अहिलेलाई सोझो भएको छ । रुखले चुँडालेको लट्ठालाई निकालिएको छ । पुलको एउटा सपोर्ट लट्ठा नभएपछि जोखिम बढी भएकाले सर्वसाधारणलाई हिँड्नसमेत रोक लगाएको थियो । 

A tree stuck on the suspension bridge of Kaligandaki was removed by a team of experts

मर्मतपछि अब हिँड्नका लागि खुल्ला भएको छ । कालीगण्डकी नदीमा झोलुंगे पुल नजिकै मोटरेबल पक्की पुल निर्माणाधीन भएकोले एकातर्फ गिट्टी, बालुवा थुपारेर बाँध बाँधेकाले नदीको भेलले अर्कोतर्फ हानेको थियो । निर्माण व्यवसायीले समयमा गिट्टी, बालुवा व्यवस्थापन नगर्दा स्याङ्जातर्फ कटान गर्दा ठूलो पहिरोसमेत खसेको छ । यो झोलुंगे पुल भएर पाल्पाको रामपुर नगरपालिका र स्याङ्जाको चापाकोट नगरपालिकाका बासिन्दा वारपार गर्दै आएका थिए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully