प्रसारण लाइनको विरोधमा सुनवल–८ मा तालाबन्दी

असार १९, २०८२

नवीन पौडेल

Lockdown at Sunwal-8 in protest of transmission line

परासी — ३३ केभी प्रसारण लाइन विस्तारको क्रममा स्थानीय बासिन्दा प्रभावित हुने भन्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिका–८ का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडा नम्बर ८ को सिरानटोलदेखि अरनीटोलसम्मका स्थानीय प्रसारण लाइन जडान गर्न नदिने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

लामो समयदेखि सङ्घर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका स्थानीयले माग सम्बोधन नभएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको सङ्घर्ष समितिका संयोजक सानुबाबु श्रेष्ठले बताए । प्रसारण लाइन विस्तारको क्रममा प्रत्यक्ष रूपमा पाँच सय परिवार प्रभावित हुने भएकाले बस्तीभन्दा बाहिरबाट प्रसारण लाइन विस्तार हुनुपर्ने माग उनले राखे ।

प्रशासनले जबर्जस्ती सुरक्षाकर्मी प्रयोग गरेर प्रसारण लाइन विस्तार गर्न लागेको र विपन्न जनताको उठीबास हुन लागेको स्थानीयको आरोप छ । २०७८ सालमा स्थानीयसँग सहमति गरेर प्रसारण लाइनको काम अगाडि बढाएको भन्दै विद्युत् प्राधिकरणले काम नरोक्ने अडान लिँदै आएको छ । '९ मिटर छोड्नुपर्ने हुँदैन । यो सामान्य प्रसारण हो । स्थानीयले कुरा नबुझ्दा समस्या भयो,' वडा नम्बर ८ का वडाध्यक्ष देउबहादुर गुरुङले भने ।

करिब ४ वर्षअघि सुरु भएको काम अहिले आएर स्थानीयले विरोध गरेको र वडा कार्यालयमा तालाबन्दी गरेको उनले बताए । यो विद्युत् प्राधिकरण र प्रशासनको काम भएकाले समस्या समाधानका लागि पहल भइरहेको पनि उनले जानकारी दिए । ७५३ वटा पोलमध्ये ६ वटा पोलको विषयमा विवाद उत्पन्न भएको जनाइएको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully