धुर्कोट बालश्रम र सडक बालबालिका मुक्त पालिका 

असार १८, २०८२

सन्तोष महतारा

Dhurkot Child Labor and Street Children Free Municipality

गुल्मी — धुर्कोट गाउँपालिका बालश्रम तथा सडक बालबालिका मुक्त घोषणा भएको छ ।

गाउँसभाको १७ औं अधिवेशन अन्तर्गत बुधबार अध्यक्ष भुपाल पोखरेलले यस सम्बन्धी औपचारिक घोषणा गरे ।

घरधुरी सर्वेक्षण, सर्वेक्षण सहितको प्रस्तावना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रस्तावना स्वीकृत हुनुका साथै तीन लाख रुपैयाँ बजेट प्राप्त, बालश्रम निवारण सम्बन्धी सचेतना र मनोपरामर्श वडा तहमा प्रदान गरिएको, अध्ययन छाडेका विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गरिएको र पालिकाबाट वडा तहलाई बालश्रम र सडक बालबालिका मुक्त बनाएपछि पालिका यस सम्बन्धीको घोषणामा भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख सुजाता गिरीले जानकारी दिइन् । 

साथै गाउँपालिकाले ९ र ११ वर्षका दुई जना सडक बालबालिकालाई आवासीय शिक्षा प्रदान गरिरहेको, अध्ययन छोडेका १५ वर्षदेखि १८ वर्षसम्मका ११ जनालाई सीपमूलक अन्तर्गत हाउस वायरिङ सम्बन्धी ७ दिने तालिम प्रदान गरेको थियो । 

बालश्रम सर्वेक्षणमा क्रममा २ जना गाउँपालिकाको केन्द्र नजिकै होटलमा काम गर्ने र २ जना ट्याक्टरमा सहचालकको रूपमा हिँडिरहेकोमा उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको छ ।

यस घोषणा धुर्कोट गाउँपालिका भित्र बालश्रम र सडक बालबालिका शून्यमा झारेपछि सम्भव भएको हो । यस सम्बन्धी घोषणाको मापदण्डअनुसार आफूहरूले गाउँसभाको बैठकबाट बालश्रम र सडक बालबालिका मुक्त पालिका घोषणा गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । 'अबका दिनमा धुर्कोटभित्र कुनै बालबालिका श्रम र सडकमा हुनेछैनन्, ' उनले भने, 'पालिकाको पटक पटकको मेहनतपछि हामीले  जिल्लामै पहिलो धुर्कोटलाई बालश्रम र सडक बालबालिका मुक्त बनाएका छौँ ।'

धुर्कोट गाउँपालिका बालश्रम र सडक बालबालिका मुक्त घोषणा गर्ने गुल्मीमै पहिलो स्थानीय तह हो । दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा धुर्कोटले पहिलोपटक यस सम्बन्धीको घोषणा गरेको हो ।

सन्तोष महतारा

Link copied successfully