महेशपुर भन्सार कार्यालयद्वारा ६९ टन चिनी नष्ट

असार १८, २०८२

नवीन पौडेल

69 tons of sugar destroyed by Maheshpur customs office

परासी — पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले ६९ टन चिनी नष्ट गरेको छ । लामो समयदेखि गोदाममा थन्काएर राखिएको चिनी नष्ट गरिएको हो । ग्राहकले प्रयोग गर्न अयोग्य ठहर भएको चिनी भन्सार कार्यालयले नष्ट गरेको कार्यालय प्रमुख विकास उपाध्यायले बताए ।

५० किलोका बोरामा प्याक गरिएको १ हजार ३ सय ८० बोरा चिनी पाल्हिनन्दनको झरही खोला किनारमा नष्ट गरिएको हो । सुरक्षा निकायले विभिन्न समयमा बरामद गरेको चिनी भन्सार कार्यालयमा बुझाए पनि समयमा नै गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा नपठाउँदा लाखौँ मूल्य पर्ने सामान नष्ट हुँदै आएको छ । चिनी सँगै भारतबाट क्वारेनटाइन र खाद्य गुणस्तर जाँच नगरी अवैध रूपमा भित्राएको ७० बोरा धानको बिउ पनि नष्ट गरिएको छ ।

बरामद भएको चिनीलाई भन्सार कार्यालयले परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको थियो । कार्यालयले चिनी रहेको बोरामा लेबल र सिल उल्लेख नगरिएकाले मापदण्ड विपरीत रहेको भन्दै पत्र पठाएपछि लिलाम हुन नसकेको र नष्ट गर्नुपरेको हो ।नष्ट गरिएको चिनीको बजार मूल्य ५५ लाखभन्दा बढी छ ।  

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully