लोसपाद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

प्रदेशसभा बैठकमा विपक्षी बेन्च खाली भएपछि लोसपा प्रतिपक्षमा

असार १७, २०८२

घनश्याम गौतम

Withdrawal of support extended by LOSPA to Lumbini government

बुटवल — लुम्बिनीमा मंगलबारदेखि बजेटमाथिको छलफल सुरु भएको छ । दिउँसो ३ बजे सुरु भएको बैठक १० मिनेट मात्र बसेर स्थगित भएको थियो । प्रतिपक्ष र सत्तापक्षबीच सहमतिका लागि आधा घण्टा रोकिएको बैठक राति साढे ८ बजेबाट सुरु भएको हो ।

स्थगित बैठक निरन्तर भएपछि आगामी आवको बजेटमा विरोध जनाउँदै माओवादी, नेकपा एस, जनमोर्चा, जसपा नेपाल लगायतका प्रतिपक्ष दलहरुले बैठक बहिस्कार गरेका थिए ।

दोस्रो बैठकमा प्रदेशसभा प्रतिपक्षविहीन भएपछि त्यसअघिको बैठकमा सत्तापक्षमा रहेको लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै सभामुखलाई पत्र पठाएको थियो । सभामुखले तत्कालै पत्रमा तोक लगाएपछि लोसपालाई प्रतिपक्षको बेन्च तयार गरेर प्रदेशसभाको बैठक साढे ८ बजे रातिबाट सुरु भएको हो । लुम्बिनी प्रदेशसभामा लोसपाका तीन प्रदेशसभा सदस्य छन् । यसअघि जसपा नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जसपा नेपालका एक सदस्य छन् । 

प्रतिपक्षका माओवादीसहितका दलले बहिस्कार गरेपछि सुरु भएको प्रदेशसभाको बैठकको प्रतिपक्ष बेन्चमा लोसपाका ३ र जसपा नेपालका १ जना सदस्य छन् । बैठक सुरु भएपछि लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट बनाउने क्रममा प्रदेशसभा सदस्यका छुटेका योजना समावेश गर्ने छोटो वक्तव्य र प्रतिबद्धतासहित ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । बजेट माथिको सैद्धान्तिक छलफल सकिएको छ । 

बजेटमाथिको सैद्धान्तिक छलफलममा प्रदेशसभा सदस्य विष्णु पन्थी, कनैया बनिया, चन्द्रकेश गुप्ता, सुधाकर पाण्डेले बोलेका थिए । बैठकमा आर्थिक मामिलामन्त्री कार्कीले आव २०८२/०८३ सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेस गरेका थिए । विधेयक माथिको सैद्धान्तिक छलफल बुधबार हुनेछ ।

प्रदेशसभाको छैटौं अधिवेशनको १५ औं बैठक ७ मिनेट मात्र बसेर सकिएको छ । सत्तापक्षले बुधबार नै बजेट पास गर्नेगरी कार्ययोजना बनाएको छ । बैठक बहिस्कार गरेको प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले सत्तापक्षलाई भोलि (बुधबार) बैठक सञ्चालन गर्न माग गर्दा पनि सुनुवाइ नगरी मंगलबार राति नै बैठक सञ्चालन गरिएको बताए । ‘बजेटमाथिको समस्या सत्तापक्षकै हो, हामीले यस्तो संकट आउनुको कारण मागेका थियौं,’ उनले भने, ‘तर सत्तापक्ष पेलेरै जान खोज्यो, एकदिन पनि कुर्न सकेन ।’

लोसपा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले सरकारले आफ्ना माग सम्बोधन पनि नगरेको र बजेटमा पनि बेवास्ता गरेकाले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको दाबी गरे । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले लोसपा र जसपा नेपालका चार जना सदस्य प्रतिपक्षको बेन्चमा उपस्थित भएपछि प्रदेशसभाको बैठक सञ्चालन गरिएको बताए । 

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully