दाङ — राप्ती गाउँपालिकाले भारी वर्षा र संभावित बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गर्दै आज र भोलि पालिका भित्रका सबै विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ ।
राप्ती गाउँपालिकाको शिक्षा शाखाले आइतबार सूचना जारी गरी असार १४ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सतर्कता सम्बन्धी सूचनाका आधारमा यस्तो निर्णय गरिएको जानकारी दिएको छ ।
वर्खे बिदाबाट कट्टी हुने गरी बिदा दिइएको वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले जानकारी दिएका छन् ।
बिदाको अवधिमा बालबालिकालाई साना तथा ठूला नदी, इनार, पोखरीजस्ता जलस्रोतबाट टाढा राख्न, अत्यावश्यक बाहेक त्यस्ता क्षेत्रतर्फ जान नदिन र मौसमी बुलेटिनका अद्यावधिक जानकारीको आधारमा मात्र दैनिक कार्य सञ्चालन गर्न सूचनामार्फत अनुरोध गरिएको छ ।
