गुल्मी — धुर्कोट गाउँपालिका-१ नयाँगाउँ गुल्मीमै पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको छ । आइतबार सबै प्रक्रियागत सूचक र चरण पूरा गरेर नयाँगाउँ जिल्लामै पहिलो पटक बालमैत्री शासनयुक्त वडा घोषणा भएको हो ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको रोहबरमा वडाध्यक्ष चेतमान कुँवरलाई बालमैत्री वडा घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेपछि औपचारिक रूपमा नयाँगाउँ बालमैत्री शासनयुक्त वडा घोषणा भएको छ ।
वडाध्यक्ष कुँवरका अनुसार ५१ सूचक २८ तहगत चरण पार गरेर वडा पहिलो पटक बालमैत्री शासनयुक्त घोषणा भएको हो । जिल्ला समन्वय समितिका प्रमुख द्राखत्री खत्रीको नेतृत्वमा गठित जिल्ला स्तरीय समितिले वडाको अनुगमन गरेपछि यसको अन्तिम प्रक्रिया पूरा भएको थियो ।
वडा तहमा बाल संरक्षण समिति गठन, बालमैत्री नीतिहरू तयार गरी लागु, बालबालिकासम्बन्धी कार्यक्रमका लागि वार्षिक बजेट छुट्याएको र वडामा बाल अधिकार संरक्षणसम्बन्धी कार्ययोजना रहेको सम्बन्धी मापदण्ड पूरा गरेको थियो ।
साथै वडामा जन्म दर्ता, स्वास्थ्य, स्वच्छता, शिक्षा, बालश्रम, बाल सहभागिता, बाल संरक्षण, आश्रित बालबालिका, सूचना पहुँच, समावेशीकरण हुनुपर्ने साथै अनुगमन र मूल्याङ्कन हुनुपर्ने हुन्छ ।
वडास्तरीय प्रारम्भिक मूल्याङ्कन रिपोर्ट, तथ्याङ्क सङ्कलन र प्रतिवेदन लेखन र बालमैत्री घोषणा पूर्वतयारी गरेपछि वडा कार्यालयले सबै सूचक पूरा गरेर बालमैत्री वडा घोषणा भएको हो ।
नयाँ गाउँमा १ हजार ६ सय २१ जना बालबालिका रहेका छन् ।
धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले नयाँगाउँ बालमैत्री घोषणा हुनु गाउँपालिकाकै लागि गौरव भएको बताए । उनले पहिलो पटक वडा घोषणा भएकोमा गाउँपालिकाले हौसला स्वरूप एक लाख रुपैयाँ पुरस्कार प्रदान गरे । 'दुई वर्षको मेहनतले सार्थकता पाएको छ,' उनले भने, 'बालमैत्री शासनयुक्त घोषणाले नयाँगाउँ पालिकाको गौरव बनेको छ ।' उनले क्रमशः घोषणा हुने वडालाई ९० हजार, ८० हजार, ७० हजार रुपैयाँ हुँदै पुरस्कार प्रदान गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । बालबालिकामा लगानी र सहभागिता सुनिश्चित गर्नुपर्ने भन्दै अध्यक्ष पोखरेलले त्यसोभएमा मात्रै समाजमा बालबालिकाले पछि योगदान गर्नसक्ने बताए ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले मानव विकासका सकारात्मक सूचकांकमा यस्ता कार्यक्रमले थप प्रभाव पारेको बताए । 'नयाँगाउँ बालमैत्री बनेर सिङ्गो जिल्लालाई उदाहरण दिएको छ,' उनले भने, 'यस वडाको सिकेर अरूले पनि सूचक र तहगत प्रक्रिया पूरा गर्नुपर्छ ।' जिल्ला समन्वय समितिले शिक्षा, स्वास्थ्य र सञ्चारलगायतको समन्वयमा अनुगमन गरेर बालमैत्री शासनयुक्त घोषणा गर्न नयाँगाउँ उपयुक्त भएको भन्दै प्रमाणपत्र हस्तान्तरण गरेको थियो । जिजस प्रमुख खत्रीले गुल्मीमै पहिलो पटक धुर्कोटको नयाँ गाउँलाई बालमैत्री शासनयुक्त वडा घोषणा गरिएको बताए ।
