कपिलवस्तु — जिल्लाका सुनचाँदी पसल तीन दिनदेखि अनिश्चितकालीन रुपमा बन्द गरिएको छ । सुनचाँदी व्यवसायी संघ जिल्ला शाखाको आह्वानमा जिल्लाभरिका सुनचाँदी पसल शुक्रबारबाट बन्द भएका हुन् ।
सरकारले सुनचाँदीमा लगाएको अनावश्यक करको विरोध गर्दै पसल बन्द गरिएको जिल्ला प्रथम उपाध्यक्ष नित्यानन्द बर्माले बताए । नयाँ बजेटमा सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हीरा पत्थरमा १३ प्रतिशत कर लगाएकाले तत्काल खारेज हुनुपर्ने माग गर्दै पसल बन्द गरेको उनल बताए । त्यस्तै, सुनको भन्सार ६ प्रतिशत कायम हुनुपर्ने र सुनचाँदी कारोबारका लागि सरकारले प्रस्ट नीति र नियमावलीको निर्माण गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । पसल बन्द हुँदा गरगहना खरिद गर्न आउने ग्राहकलाई समस्या भइरहेको छ ।
सरकारले सुनचाँदीमा लगाएको अव्यावहारिक नीतिका कारण देशैभरका व्यवसायी आन्दोलित बनेका छन् ।
