नेपालगन्ज — राष्ट्रिय वृक्षारोपण दिवस २०८२ को अवसरमा बाँकेको राप्तीसोनारी–९, ढकेरी झिझरी महिला सामुदायिक वन बृहत् वृक्षारोपण कार्यक्रम गरिएको छ ।
शनिबार नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री रुपा विकले बिरुवा रोपेर वृक्षारोपणको उद्घाटन गरिन् । उनले वृक्षारोपण केवल वृक्षारोपणका लागि मात्र नभएर वृक्षारोपणका माध्यमबाट समुदायको उत्थानका लागि योगदान पुर्याउन जरुरी भएको बताइन् ।
'हाम्रा पानीका मुहानहरू सुकिरहेका छन् । जलवायु परिवर्तनले महिला विपन्न आदिवासीहरुको कृषि, स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । त्यसलाई कम गर्न पनि वृक्षारोपण जरुरी छ,’ उनले भनिन् ।
लम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवार सन्तुको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका सदस्य वातावरण अभियन्ता सबै पुगेर सामूहिक रूपमा वृक्षारोपण गरे ।
मन्त्री कलवार सबै स्थानीय तहले खाली तथा बाँझो जमिनमा वृक्षारोपणका लागि अभियान चलाउनुपर्ने बताए । ‘किसानले निजी वन लगाउने, स्थानीय सरकारले खाली भएका जग्ग्गा तारबार गरी वृक्षारोपण गर्नुस्, सामुदायिक बनका साथीहरूले रुख काटी खाली भएको ठाउँमा वृक्षारोपण गर्न आग्रह गर्छु,’ उनले भने,‘ वृक्षारोपणबाट लाभ लिने हो भने उत्पादनशील सार्वजनिक खाली जग्गामा वृक्षारोपण बढाउँदै लैजानुपर्छ । यसबाट समुदायलाई फाइदा पुर्याउन सकिन्छ ।’
डिभिजन वन कार्यालय बाँकेको आयोजनामा भएको सो कार्यक्रममा ६ दशमलव ३६ हेक्टरमा वृक्षारोपणको तयारी गरिएको छ । जसमा वृक्षारोपण क्षेत्रको परिधि १,१३८मिटर रहेको छ । ८ हजार गोटा बिरुवा वृक्षारोपण गर्न लागिएको हो ।
सयर ,सिसौ वीरेन्द्र फल, सतिसाल, अर्जन् श्रीखण्ड (सेतो चन्दन) गोल्डमोहर लगाइएको हो ।
हरेक वर्ष नेपाल सरकारले अन्तर्राष्ट्रिय राष्ट्र सामु २०४५ सम्म शून्य कार्बन् उत्सर्जन ठूलो लक्ष्यलाई कार्यान्वयन गर्न वृक्षारोपण अभियानलाई महाअभियानका रूपमा सरकारले अगाडि बढाएको डिभिजन वन कार्यालय बाँकेको प्रमुख शंकरप्रसाद गुप्ताले बताए ।
