काठमाडौँ — विषालु च्याउ खाँदा एकै परिवारका तीनजना बिरामी परेका छन् ।
बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।
बिहीबार जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि गए राति नै उनहरुलाई टाउको दुख्ने, रिँगटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो । बिरामी भएका तीनैजनालाई राति नै उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो ।
घटनाको जानकारी पाउनासाथ राति नै इन्द्रगौडा प्रहरी पोस्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीनैजनालाई उपचारका लागि तत्कालै पाल्पा पठाएको थियो । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
