तिनाउ खोलामा अवैध उत्खनन, गाउँपालिकाका कर्मचारीले खोसे एक्स्काभेटरको चाबी

असार १३, २०८२

माधव अर्याल

Illegal excavation in Tinau river, village staff took away the key of the excavator

पाल्पा — विपद् व्यवस्थापन समितिको निर्णयविपरीत खोलामा एक्स्काभेटर लगाएर ढुंगा निकाल्ने निर्माण व्यवसायीलाई तिनाउ गाउँपालिकाले ५० हजार जरिवाना तिराएको छ ।

तिनाउ–५, चर्चरे र गौडेपुलबीचको भागमा खोलामै एक्स्काभेटर लगेर दुई सातायता ढुंगा फोर्ने, निकाल्ने गरेको भगवती कन्स्ट्रक्सन बुटवललाई जरिवाना तिराइएको हो ।

सडक डिभिजन कार्यालयमार्फत ठेक्का भएका कामका लागि निर्माण व्यवसायीले विपद् व्यवस्थापन समितिको निर्णयविपरीत असार १ पछि खोलामा एक्स्काभेटर र ट्र्याक्टर लगेर ढुंगा निकालेको सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । एउटालाई कारबाही गरे पनि बाँकी एक एक्स्काभेटर र ट्र्याक्टर कारबाहीमा नपरेका हुन् ।  

चर्चरे र गौडे पुलबीचको भाग कालिमाटी तल खोलामा भगवती कन्स्ट्रक्सनको एक्स्काभेटरको चाबी नियन्त्रणमा लिएर जरिवाना तिराइएको गाउँपालिका राजस्व शाखा प्रमुख निरञ्जन लामिछानेले जानकारी दिए । निर्माण व्यवसायीले खोलामा अवैध रुपमा एक्स्काभेटर, ट्र्याक्टर प्रयोग गरी ढुंगा निकासी गरेको सूचनाका आधारमा गाउँपालिकाले एक्स्काभेटरको चाबी नियन्त्रणमा लिएको हो । अवैध उत्खनन गर्ने निर्माण व्यवसायीलाई आर्थिक ऐनअनुसार जरिवाना तिराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए । 

स्थानीय बासिन्दाका अनुसार असार १ गतेपछि पनि बिहानदेखि बेलुकीसम्म एक्स्काभेटरले ब्रेकर लगाएर डुम्रे खोला (तिनाउ) मा ढुंगा फोर्ने गरेको थियो । ट्र्याक्टर प्रयोग गरेर निकासीसमेत गरेको देखिएको स्थानीयको भनाइ छ । सडक डिभिजन कार्यालयअन्तर्गत भगवती कन्स्ट्रक्सनले चर्चरे नजिकै प्लम कंक्रिट वाल लगाउने ठेक्का लिएको छ । यो वाललगायत विभिन्न स्थानमा सडकमा ढलानको काम लिएको कन्स्ट्रक्सनले २०८१ मंसिर २८ गते असार १५ भित्र काम सक्नेगरी ठेक्का लिएको सडक डिभिजनका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए । 

दैनिक खोलामा ठूला मेसिन देखेपछि तिनाउ–२, का पूर्व वडाध्यक्ष राजेश श्रेष्ठ लगायतले सामाजिक सञ्जालमा तस्बिर राखेपछि गाउँपालिकाका कर्मचारी पुगेर एक्स्काभेटरको चाबी खोसेका हुन् ।

असार १ पछि खोलामा एक्स्काभेटर, टिपर, ट्र्याक्टर लैजान नपाउने निर्णय जिल्ला विपद् व्यवस्थापन समितिले गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए । 

सिद्धार्थ राजमार्गको छेवैमा प्रहरी, प्रशासन, स्थानीय सरकार, जिल्ला समन्वय समिति सबैले देखे पनि नदेखेझैं गरेकाले असार १ पछि खोलामा एक्स्काभेटर लगाएर निर्माण व्यवसायीले ढुंगा निकालेका थिए । तिनाउ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा लु २ ख ३७६० को टिपरबाट २५ हजार, लु १ ख २२९५, लु २ ख ५८६७ र लु २ ख ३७६० को टिपरबाट पटके गरी एक लाख जरिवाना गरेको राजश्व शाखा प्रमुख लामिछानेले बताए । उनका अनुसार लु ४ त ७५९७ लाई पटके जरिवाना २० हजार, लु ४ त १६१३ बाट १० हजार, लुम्बिनी प्रदेश ०१–०१–००१ क ०१३४ टिपरबाट २५ हजार जरिवाना गरेको छ ।

माधव

Link copied successfully