प्यूठान — प्यूठानको गौमुखी गाउँपालिका क्षेत्रभित्र २ सय १७ प्रजातिका रहेको पाइएको छ ।
२०८१ असोज र २०८२ वैशाखमा गरिएको चरा अभिलेखका क्रममा गाउँपालिकाभित्र २ सय १७ प्रजातिका ४ हजार ५ सय ३८ वटा चरा अभिलेख भएका हुन् ।
चरा विज्ञहरूले वैज्ञानिक पद्धतिबाट गरेको अध्ययनले मङ्गोलियाबाट जाडोयाममा बसाई सरी आउने विश्वकै दुर्लभ गोमायु चिल र नेपालको आकाश हुँदै दक्षिण जाने कर्याङ–कुरुङ पनि अभिलेख गरेको छ । गौमुखी गाउँपालिकाको सहयोग र हिमाली अनुसन्धान केन्द्रको समन्वयमा गरिएको अध्ययनमा वि.सं. २०८१ असोजको सर्वेक्षणमा गोमायु चिल र कर्याङ–कुरुङ तथा २०८२ सालको वैशाखमा गृष्मकालीन आगन्तुक चराहरू आठ प्रजातिका कोइली, दुई प्रजातिका मुरली चरा, स्वर्गचरी, सुनचरी, कस्तुरा, चाँचरजस्ता चरा भेटिएका छन् । ती चराहरू नेपालमा बच्चा कोरल्न बसाई सरी आउने गरेको अनुसन्धानकर्ता चरा विज्ञ कृष्ण भुसालले बताए ।
उनका अनुसार अध्ययनको क्रममा भेटिएका २ सय १७ प्रजातिका चराहरूमध्ये ९९ प्रजातिका चरा संरक्षणका हिसाबले समेत महत्त्वपूर्ण रहेका छन् । संरक्षण महत्त्व भएका चराहरू गौमुखी क्षेत्रमा रहेकाले गौमुखी क्षेत्र चराको लागि अत्यन्तै महत्त्वपूर्ण क्षेत्र भएको उनले बताए ।
यस क्षेत्रमा नेपालका ९ प्रजातिका संरक्षित चरामध्ये दुई प्रजाति चिर कालिज र मुनाल पाइन्छन् ।
त्यसैगरी विश्वमै दुर्लभ पाँच प्रजाति डगर गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, गोमायु महाचिल र चिर कालिज पनि अभिलेख गरिएको चरा विज्ञ भुसालले जानकारी दिए । राष्ट्रिय रूपमा सङ्कटापन्न अवस्थामा रहेका १७ प्रजाति, ४ प्रजाति सीमित क्षेत्रमा मात्र पाइने, ६९ प्रजाति खास प्रकारको भूगोलमा मात्र पाइने र ३१ प्रजाति साईटिस सूचीमा सूचीकृत चराहरू यस क्षेत्रमा भेटिनुले गौमुखी क्षेत्रको गरिमा झन् बढेको छ । यस क्षेत्रमा लोपोन्मुख हिमाली गिद्ध र हाडफोर गिद्धको गुँड भएको पुष्टि भएको छ ।
चराहरू मात्र होइन, यस अध्ययनले ८ प्रजातिका पुतली, ५ प्रजातिका माछा, ४ प्रजातिका उभयचर, ८ प्रजातिका सरीसृप र १८ प्रजातिका स्तनधारी जनावरहरूको उपस्थिति अभिलेख गरेको छ । गौमुखी गाउँपालिका क्षेत्रमा लोपोन्मुख चराहरू रहेकाले यस क्षेत्रको समग्र जैविक सम्पदा झल्काउने उनले बताए ।
यस अध्ययनले गौमुखी वन संरक्षण क्षेत्र घोषणको लागि थप सहयोग गरेको छ । चरा तथा जैविक विविधता क्षेत्र बनाउन बलियो आधार मिलेको छ । लोपोन्मुख तथा विभिन्न प्रजातिका चराहरूको बसोबास रहेको गौमुखी क्षेत्रमा ग्रामीण पर्यटन, वैज्ञानिक अनुसन्धान, वातावरण संरक्षण र पर्यापर्यटन प्रवर्द्धनसँगै स्थानीय समुदायको जीविकोपार्जन तथा दिगो विकासका लागि पनि सम्भावनाको ढोका खोलेको गौमुखी पालिकाका उपाध्यक्ष महावीर रानाले बताए ।
‘गौमुखी गाउँपालिका जैविक विविधता, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको समन्वय भएको एउटा अद्वितीय गन्तव्य हो,’ उपाध्यक्ष रानाले भने, ‘चरा गणना र त्यसपछिको नतिजाले झनै उत्साहित बनाएको छ ।’ गाउँपालिकाभित्र सयौँको सङ्ख्या चराहरू तथा तिनका विभिन्न प्रजातिहरूको वासस्थान भएकाले त्यसको संरक्षण र संवर्द्धनमा गाउँपालिकाले भूमिका खेल्ने बताए । गौमुखी पुग्ने जोकोहीले पनि यहाँबाट प्रेरणा, साहसिकता र प्रकृतिसँगको गहिरो सम्बन्ध प्राप्त गर्न सक्छ । गौमुखी क्षेत्र प्रकृति, संस्कृति र पर्यटनको संगम खोज्ने जोकोहीका लागि एक अनिवार्य भ्रमणस्थल समेत रहेको उपाध्यक्ष रानाले बताए ।
२०१६ सालमा वन तथा भूसंरक्षण विभागले गौमुखी गाउँपालिकाको करिब १८०.३८२ वर्ग किलोमिटर क्षेत्रपललाई संरक्षण क्षेत्र बनाउन प्रस्ताव गरेको थियो । विभिन्न चराचुरुंगी, ८ प्रजातिका पुतली, ५ प्रजातिका माछा, ४ प्रजातिका उभयचर, ८ प्रजातिका सरीसृप र १८ प्रजातिका स्तनधारी जनावर पाइएकाले यस वन क्षेलाइ संरक्षित वन क्षेत्र बनाउन थप टेवा पुग्ने गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले बताए ।
पूर्वमा गुल्मीको मदाने संरक्षण वन,उत्तरमा बागलुङ जिल्लाको वन क्षेत्र, पश्चिममा प्यूठानकै कोठिभीर वन क्षेत्रसँग जोडिएको गौमुखीको यस वन क्षेत्रलाई संरक्षणको आवश्यकता रहेको स्थानीयले समेत औँल्याएका छन् ।
गौमुखी क्षेत्रका चरा, जैविक विविधता र प्रचुर पर्यटकीय सम्भाव्यतालाई उजागर गर्दै दिगो उपयोग, प्रवर्द्धन गर्दै समग्र पालिकाको समृद्धिका लागि गौमुखी गाउँपालिकाले ध्यान दिएको गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पोडेलले बताए ।
