श्रीमतीले दोस्रो बिहे गरेपछि सासूसँग झगडा हुँदा हत्या गरेको प्रहरीसमक्ष स्वीकार
पाल्पा — सासूको हत्या आरोपमा २१ वर्षपछि ज्वाइँ पक्राउ परेका छन् ।
२०६१ साल असार १९ गते पाल्पाको साविक सिलुवा गाउँ विकास समिति–९, हाल पूर्वखोला गाउँपालिका–१, गुनडाँडामा ५५ वर्षीया सासू चिनीसरा सार्कीको हत्या गरी फरार सोही स्थानका ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई २१ वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हत्या गरी फरार पूर्णबहादुर लामो समयदेखि भारतमा लुकिछिपी बसेका र बिहीबार नेपाल फर्किने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो । सार्कीलाई बिहान ४ बजेको समयमा बाँके जिल्ला, नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहा भन्सार नाकाबाट पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलन गरी जनाएको छ ।
प्रहरी प्रमुख पवनकुमार भट्टराईका अनुसार निकै मिहिनेत गरेपछि मात्र हत्या आरोपीलाई पक्राउ गर्न सफल भएको हो । मृतक चिनीसराको छोरीले दोस्रो बिहे गरेर अन्यत्र हिँडेपछि झगडा हुँदा पूर्णबहादुरले कुटपिट गरी घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । ‘हत्या गरेर भारततर्फ भागी फरार रहेका थिए,’ प्रहरी प्रमुख भट्टराईले भने, ‘धेरै मिहिनेतपछि मात्र पक्राउ गर्न सफल भएका हौं ।’
छोरी दोस्रो विवाह गरेर अर्कैसँग गएपछि उनीहरूबीच झगडा सुरु भएको थियो । झगडापछि हत्याको रूप लिएका पूर्णबहादुरले स्वीकार गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । ‘घरमा कुटपिट गरेर नजिकै रहेको मकैबारीमा लगेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ प्रहरी नायब उपरीक्षक मल्लले भने ।
पूर्णबहादुरलाई मुलुकी ऐन, २०२० को ज्यानसम्बन्धी महलको १ नम्बर बमोजिम ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत, पाल्पाबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (१) बमोजिम ५ दिन म्याद लिई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धान भइरहेको छ ।
