दाङ — दाङमा २३ जना भूमिहीन सुकुम्बासीलाई १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण गरिएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लामा पहिलोपटक जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।
लमही नगरपालिका वडा नं. ३ कान्छिगाउँका २३ घरधुरीलाई ८ धुरदेखि एक कठ्ठासम्मको बसोवासका लागि बुधबार जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।
भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिका प्रमुख जोगराज चौधरी, आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत र नगर उपप्रमुख लक्ष्मी योगीले भूमिहीन सुकुम्बासीलाई संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गरे ।
भूमि समस्या समाधान आयोग जिल्ला समितिको २०८२ जेठ ११ गतेको बैठकले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा बुधबार आयोजित एक कार्यक्रममा २३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
एक धुर जग्गा समेत नाममा दर्ता नभएका परिवारले पहिलोपटक जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरू निकै हर्षित भएका छन् । तीन पुस्तादेखि लालपुर्जाविहीन जीवन बिताउँदै आएका परिवारलाई पहिचान गरी जग्गा दर्ता गराइएको हो ।
गोचान्दर चौधरी, ठग्नी चौधरी, कालु चौधरी, विदेशी चौधरी, रोरु चौधरी, रामप्रसाद चौधरी, मिनाकुमारी चौधरी, गुरुप्रसाद चौधरी, शिवशंकर चौधरी, रामकुमारी चौधरी र सरीता चौधरीले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।
यसैगरी हरिप्रसाद चौधरी, झलकराम चौधरी, सुनिता चौधरी, कमल चौधरी, अशोककुमार चौधरी, रामकली चौधरी, ठगिराम चौधरी, शहाविर चौधरी, कल्लुराम चौधरी, शेरु चौधरी, कङलु चौधरी र सुनिता चौधरीले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।
कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष रिजालले तोकिएको समयसीमाभित्र भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाए ।
लमहीका निवर्तमान नगर प्रमुख कुलबहादुर केसी, नापी कार्यालय दाङका प्रमुख पुरण चौधरी, आयोगका विज्ञ सदस्य यज्ञराज आचार्य, संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रमकी नेपाल प्रमुख प्रज्ञा प्रधानलगायतले भूमिहीन सुकुम्बासीलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने अभियानले सार्थकता पाउन थालेकोमा खुशी व्यक्त गरे ।
