पाल्पा — पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा पहिरो खसेको हो ।
सडक चौडा गरेको स्थानमा ठूलो पहिरो खसेको छ । स्थानीय बासिन्दाका अनुसार यही स्थानमा गतवर्ष पनि ठूलो पहिरो खसेको थियो । दोभानदेखि तल्लो सिद्धबाबासम्म सुरुङमार्ग निर्माणको काम भइरहेको छ । पुरानो सडकमा डोजर लगाएर चौडा गरिएकाले पनि थप पहिरोको जोखिम छ ।
सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलवाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङसम्म जाने यात्रु साथै र त्यसतर्फबाट बुटवल, भैरहवातर्फ जाने सवारी साधन र यात्री बाटोमै अलपत्र परेका थिए । बुटवल–नारायणगढ सडकको दाउन्ने र विनयी खोलामा सडक अवरुद्ध भएपछि पश्चिमका सवारी साधन सिद्धार्थ राजमार्ग भएर काठमाडौं र पूर्व जाने गरेका छन् ।
दोभान प्रहरी चौकीका अनुसार सडक डिभिजन र सुरुङमार्ग आयोजना अन्तर्गत चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको डोजर तथा स्काभेटर लगाएर सडक खुलाउने प्रयास गरिएको छ । दोभानदेखि सिद्धबाबा क्षेत्रमा पानी पर्दा र घाम लाग्दा पनि दिनहुँ खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको छ । यो सडक भएर केही दिनयता पोखरा तथा कालीगण्डकी करिडोर सडक हुँदै नारायणगढ र काठमाडौं जाने सवारी साधनसमेत गुडेकाले ट्राफिक बढ्दो छ ।
