भूमिकास्थानले ल्यायो  ८३ करोड ९४ लाखको बजेट

कृषि उद्यमबाट ३ सय बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य

असार ११, २०८२

वीरेन्द्र केसी

Bhumikasthan brought a budget of 83 crore 94 lakhs

अर्घाखाँची — भूमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८३ करोड ९४ लाख ७४ हजार रुपैयाँको बजेट ल्याएको छ । बुधबार  नगरसभाको १७ औं अधिवेशनमार्फत उपप्रमुख बालकृष्ण बञ्जाडेले सार्वजनिक गरेको बजेटमा चालुतर्फ ५४ करोड १६ लाख ८९ हजार, पुँजीगत २९ करोड ७७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

संघ सरकारबाट सर्शत अनुदान ३४ करोड ६८ लाख, समानीकरण ११ करोड १४ लाख, राजश्व बाँडफाँट १० करोड ७ लाख, संघको विशेष अनुदान ६८ लाख र समपूरक अनुदान १ करोड १२ लाख प्राप्त हुने अनुमान रहेको छ ।  

लुम्बिनी प्रदेशबाट सर्शत १ करोड १५ लाख, समानीकरण ७६ लाख, राजश्व बाँडफाँट १ करोड ४० लाख, विशेष अनुदान १८ लाख र समपुरक ११ करोड २० लाख रुपैयाँ हुने एवं भूमिकास्थान नगरपालिकाको आन्तरिक आम्दानी ८२ लाख हुने प्रारम्भिक अनुमान रहेको बञ्जाडेले बताए । 

भूमिकास्थानले कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र समाजिक विकासलाई बजेटमा प्राथमिकता दिएको छ । नगरले बाँझो जग्गा लिएर दुई वर्षदेखि खती गर्दै आएको छ । ३ सय २९ रोपनी क्षेत्रफलमा प्याज, अकबारे खुर्सानी, मकैको बीउ उत्पादन र धान खेती गर्दै आएको छ । कर्मशील जनशक्ति परिचलान गरी नगर आफैं उत्पादनमा लागेको छ । यस आर्थिक वर्ष २ सय ५० जनाले रोजगारी पाएका छन् भने आगामी आर्थिक वर्षमा १ सय ५० जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य रहेको नगरपालिका सूचना अधिकारी हरिश्चन्द्र भुसालले बताए । अप्रत्यक्ष रुपमा ३ सय जनाले कर्मशील जनशक्ति परिचालनमा रोजगारी पाउने अनुमान रहेको छ । ५० रोपनी खेती गर्ने क्षेत्रफल अर्को वर्ष थपिने पनि भुसालले बताए । 

कर्मशील जनशक्तिले बाँझो बारी नराख्ने, खेती गर्ने, युवालाई कृषि उद्यममा जोडेर स्वरोजगार बनाउने लक्ष्य अनुसार नगरपालिका आफैंले खेती गर्न लागेको नगर प्रमुख झविलाल थापाले बताए । सबै वडाका युवाशक्तिलाई कृषिमा जोडेर स्वरोजगारी र उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको उनले बताए । 

कृषि उद्यमलाई आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकरण गर्न कृषकलाई आधुनिक प्रविधि उपलब्ध गराउन ५० प्रतिशत अनुदानमा कृषि औजार उपलब्ध गराउने बजेटमा उल्लेख छ । त्यस्तै नगरभित्रका मुख्य सडकलाई बाह्रै महिना गाडी चल्ने बनाइनेछ । हाल निर्माण भएका र पिच गर्ने क्रममा रहेका सडकलाई पूरा गर्ने लक्ष्य रहेको छ । स्कुलमा शैक्षिक गुणस्तर वृद्धि गर्ने लगायतका अधिकांश पुरानै योजनालाई बजेटमा निरन्तरता दिइएको छ ।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully