लुम्बिनीका चार उपमहानगरको बजेट ९ अर्ब ३७ करोड

१०९ स्थानीय तहमध्ये ७४ ले ल्याए बजेट, सबैको शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि प्राथमिकता

असार १०, २०८२

घनश्याम गौतम

The budget of the four sub-metropolitan cities of Lumbini is 9.37 billion

बुटवल — लुम्बिनी प्रदेशका चारवटै उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि मंगलबार बजेट सार्वजनिक गरेका छन् । सबैभन्दा बढी बजेट बुटवल उपमहानगरपालिकाले ल्याएको छ । बुटवलले ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँको बजेट सोमबार सार्वजनिक गरेको हो ।

 उपप्रमुख सावित्रादेवी अर्यालले बजेटको ४९ प्रतिशत चालुतर्फ र ५१ प्रतिशत पुँजीगत रहेको बताइन् । 

शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता दिएको बुटवल उपमहानगरले आगामी वर्षका लागि आन्तरिक आय ९५ करोड हुने अनुमान गरेको छ । बजेटले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई ‘पढाईसँगै रोजगार सिर्जना गरौं, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौं’ भन्ने नारा अघि सारेको छ । 

त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख श्यानी चौधरीले २ अर्ब ७ करोडको बजेट प्रस्तुत गरेकी छन् । उनले सबै वडाको तयारी नपुगेको र योजना पेस नभएका कारण मूल अंक सार्वजनिक गर्दै चालु र पूँजीगत खर्चको उल्लेख गरेकी छैनन् । कर्मचारीहरुले चालुतर्फ १ अर्ब ३४ करोड र पुँजीगततर्फ ६७ करोड ९९ लाख रकम छुट्याइएको भए पनि सार्वजनिक नगरिएको बताए । त्यस्तै वित्तिय खर्चका लागि २ करोड २६ लाख विनियोजन गरिएको बताइएको छ । 

१९ वडा रहेको उपमहानगरमा सबै वडाका लागि ५० लाख बराबरका गौरवका आयोजना छनोट गरिएको छ । उपप्रमुख चौधरीले आफ्नै संस्था ‘दिदी घर’लाई ५० लाख रकम छुट्याएकी छन् । उक्त संस्थाले असहाय बालबालिकालाई संरक्षण गर्दै आइरहेको छ । दाङकै घोराही उपमहानगरले २ अर्ब २९ करोड २७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले १ अर्ब ६४ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पुँजीगततर्फ ५९ करोड ७७ लाख विनियोजन गरेको उपमहानगरले चालुतर्फ भने १ अर्ब ९ करोड विनियोजन गरेको छ । उपप्रमुख कमरुद्धिन राईले ४० करोड वित्तीय व्यवस्थासहित २२ करोड १२ लाख रुपैयाँ आन्तरिक स्रोतको अनुमान गरिएको बताए । उनका अनुसार बजेटले शिक्षा, स्वास्थ्य, औद्योगिकरण र पूर्वाधारलाई जोड दिएको छ ।

लुम्बिनीमा ७३ गाउँपालिका, ३२ नगरपालिका र ४ उपमहानगरपालिका छन् । तीमध्ये मंगलबार बेलुकासम्म उपमहानगरपालिका सबैले बजेट ल्याएका छन् । ३२ नगरपालिकामध्ये १९ वटाले बजेट सार्वजनिक गरेका छन् । त्यस्तै ७३ गाउँपालिकामध्ये ५१ वटा गाउँपालिकाले बजेट सार्वजनिक गरेका छन् । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully