बाढीको उच्च जोखिममा गुलरिया

बालापुर, प्रयागपुर र रामपुरटप्पुमा तटबन्ध निर्माण नभएकाले सदरमुकाम डुबानको उच्च जोखिममा

असार १०, २०८२

कमल पन्थी

Gularia at high risk of flooding

बर्दिया — बबई नदी कटान र बाढी रोकथामका लागि आपतकालीन बजेट नहुँदा सदरमुकाम गुलरिया उच्च जोखिममा रहेको छ । बाढी आउनासाथ गुलरियामा डुबान र कटानले ठूलो क्षति हुने बबई, भादा, औराही नदी व्यवस्थापन कार्यालयका प्राविधिकले आकलन गरेका छन् । 

आयोजनाका निमित्त प्रमुख प्रकाश भट्टराईले तटबन्धका लागि बजेट त परै जाओस् आपतकालीन बजेटसमेत नहुँदा बाढी रोकथाम गर्ने अवस्था नरहेको बताए । बाढी, कटान रोक्न पर्याप्त बोरा, डोरी र पारिश्रमक दिने रकमको अभाव रहेको उनको भनाइ छ ।

बाढी आउनासाथ गुलरियाको बालापुर, प्रयागपुर र रामपुरटप्पुमा तटबन्ध निर्माण नभएकाले सदरमुकाम डुबानको उच्च जोखिममा रहेको छ । यस आर्थिक वर्षमा जोखिम क्षेत्रमा करिब ८ करोड बजेट तटबन्धका लागि माग गरे पनि निकासा नभएको उनले बताए ।

नदी कटान र बाढी न्यूनीकरणका लागि ०७४ सालमा स्थापना गरिएको बबई, भादा, औराही नदी व्यवस्थापन आयोजनाको काम पूरा नहुँदै डडेलधुरामा साउनदेखि स्थान्तरण गरिने भएको छ । आयोजनाको सम्पर्क कार्यालय भने कर्णाली नदी व्यवस्थान आयोजना, राजापुरमा रहने भएको छ । आयोजनमा हाल दुई जना मात्रै प्राविधिक रहेका छन् ।

गत वैशाख ३१ गते कार्यालय प्रमुख सेवानिवृत्त भएपछि निमित्तको भरमा छ । नदी कटान क्षेत्रमा हुने जोखिम कसरी न्यूनीकरण गर्न सकिने भन्दै बबई नदीको उच्च जोखिम मानिएको गुलरिया–४ र ५ को रामपुरटप्पु, बालापुर लगायतका क्षेत्रका सांसद सञ्जयकुमार गौतम, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा अधिकारी लगायत आयोजनका प्राविधिक टोलीले अनुगमन गरेका छन् । 

सांसद गौतमले खर्च कटौती गर्ने नाममा आयोजना डढेलधुरा जाने सरकारको निर्णय गलत भएको बताए । 'अर्बौं रुपैयाँ लगानी गरेको अधुरो आयोजना अन्यत्र स्थान्तरण गर्न मिल्दैन,’ उनले भने, ‘आपतकालीन अवस्थाका लागि बजेट नदिँदा गुलरियाका ४ र ५ वडाबाट बाढी पसेर ठूलो मानवीय र भौतिक क्षति गर्नेछ ।' यस वर्ष ठूलो वर्षा हुने आकलन भइरहेको अवस्थामा सदरमुकाम बाढीको कल्पना गर्न नसकिने उनले बताए । 

बबई, भादा, औराही ०७४ असोज ९ गते गुलरियामा स्थापना भएको थियो । पाँच वर्षभित्र बबईको २८ किमि, भादाको २२ किमि र औराही नदीको २६ किमि तटबन्ध निर्माण गर्ने लक्ष्य थियो । बजेटको अभावमा यसको लक्ष्य बढाएर ०८४/०८५ सम्म अवधि तोकिएको छ । करिब ४ अर्ब लागतमा तटबन्धको काम सम्पन्न गर्ने लक्ष्य थियो । काम सम्पन्न नभएपछि ०७९ साल साउन १५ गतेको संशोधित गुरुयोजना अनुसार ८ अर्ब ४८ करोड ४८ लाख लागत बजेट स्वीकृत गरिएको आयोजनाले जनाएको छ । 

बजेट स्वीकृत भए पनि मागअनुसार निकासा नहुँदा कामले गति नलिएको आयोजनाका प्राविधिक बताउँछन् ।

हालसम्म बबईमा ७७ दशमलव ८५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । भादामा ४ दशमलव ४३ प्रतिशत र औराहीमा २ दशमल २२ प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजना निमित्त प्रमुख भट्टराईले बताए । बजेट सुनिश्चितताअनुसार निकासा नहुँदा कामले गति नलिएको उनले बताए । आयोजनका अनुसार हालसम्म २ अर्ब ४० करोड ९५ लाख खर्च भई सकेको छ । 

गुलरिया–४ का किसान रंगी थारुले ठूलो बाढी आए खेतसहित गाउँ नै बगाउने त्रास रहेको बताए । जोखिम ठाउँमा तटबन्ध नभएका कारण निद्रा लाग्न छाडेका उनको भनाइ छ ।

०७१ र ०७४ सालमा आएको भीषण बढीले बबई तटीय क्षेत्रका करिब ९० प्रतिशत भूभाग डुबानमा परेका थिए । बाढीले ४० जनाको ज्यान जानुका साथै ५ सयभन्दा बढी घरमा क्षति पुर्‍याएको थियो । गुलरिया–४ रामपुर टप्पु र बारबर्दिया–१ को डुग्रही बस्ती नै बगाएको थियो । त्यसै बेला बबई नदी नियन्त्रणका लागि आयोजनको कार्यालय स्थापना भएको थियो  ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully