अर्घाखाँची — छ स्थानीय तहमध्ये सदरमुकाम सन्धिखर्क नगरपालिकासहित पाँच पालिकाले बजेट ल्याएका छन् । भूमिकास्थान नगरपालिकाले भने आन्तरिक तयारी पूरा गर्न नसकेकाले मंगलबार बजेट ल्याउन नसकेको जनाएको छ ।
भूमिकास्थानले बुधबार सार्वजनिक गर्ने तयारी रहेको जनायो ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शितगंगा नगरपालिकाको बजेट ९३ करोड ६७ लाख ५० हजार रुपैयाँ, सन्धिखर्क नगरपालिकाको बजेट १ अर्ब ११ करोड १४ लाख रुपैयाँ, मालारानी गाउँपालिकाको बजेट ६२ करोड ९२ लाख ५१ हजार रुपैयाँ, पाणिनि गाउँपालिकाको बजेट ७२ करोड २० लाख ७४ हजार ५ सय र छत्रदेव गाउँपालिकाको बजेट ५४ करोड ९ लाख ५५ हजार ७० रुपैयाँ बजेट सार्वजनिक गरेका छन् । उनीहरुले ल्याएको बजेटमा अधिकांश पुरानै योजना सम्पन्न गर्ने उल्लेख छ । ५ स्थानीय तहको बजेट एकअर्का पालिकाप्रति मिल्दाजुल्दा नै छन् ।
मंगलबार सन्धिखर्क नगरसभाको १८ औं अधिवेशन मार्फत नगर उपप्रमुख मिश्रा आचार्यले सार्वजनिक गरेको बजेटमा स्थानीय रैथाने बालीबाट उत्पादित वस्तु ब्रान्डिङ र प्याकेजिङ गरेर बजार पठाउने भएको छ । पालिका भित्रका छनोट गरेका सहकारीबाट बजारीकरण गर्ने भएको छ ।
स्थानीय कृषि उत्पादनको प्रशोधन, भण्डारण, ब्राण्डिङ, प्याकेजिङ, लेबलिङ गरेर उत्पादित वस्तु जिल्ला र ठूला सहरहमा निर्यात गरिने बजेटमा उल्लेख छ । कृषि उद्यमबाट स्थानीयलाई रोजगारी बनाउने नीति अघि सारेको हो । सन्धिखर्क नगरपालिकालाई खाद्यान्नमा आत्ननिर्भर बनाउन लुम्बिनी प्रदेश विशेष कार्यक्रम अन्तरगत नवीनतम प्रविधि अन्तर्गतको धान, मकै बाली प्रवर्द्धन गर्ने उल्लेख छ । जसका लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, रैथाने बाली कोदो, फापर, जुनेलो, झिलिङी, कालो काउली, गहत, लट्टे प्रवर्द्धन गर्न कृषकलाई निःशुल्क बीउ वितरण गरिने भएको छ । कृषि व्यवसायलाई आधुनिकीरकण र यान्त्रीकरण गर्ने आचार्यले विनियोजन गरेको बजेटमा उल्लेख छ । तरकारी पकेट विकास कार्यक्रम, कफी पकेट र सुन्तला विशेष कार्यक्रम ल्याइने भएको हो । एभोगाडो, ड्रागन फुड, कागती, आरुबखडा लगायतका सहित हिउँदे तथा वर्षे फलफूल खेतीको लागि बिरुवमा ५० प्रतिशत अनुदानमा वितरण गर्ने भएको हो । कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य पूर्वाधार विकास लगायतका काममा बजेट विनियोजन गरिएको छ ।
क्षेत्रफलका हिसाबले देशैको ठूलो अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषि उद्यमबाट स्थानीयलाई रोजगारी, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता राख्दै बजेट विनियोजन गरेको छ ।
वडा कार्यालयसँगको समन्वयमा सहकारी मार्फत कृषि उद्यमशिलता कार्यक्रम सवै वडामा सञ्चालन गरी कृषि तथा पशु विकास सम्बन्धी उत्पादन बढाउने भएको छ । उपप्रमुख गीता भाटले सार्वजनिक गरेको बजेटमा कृषि तथा पशु विकासका माध्यमबाट रोजगारी सृजना र आयआर्जन बढाइने बताइएको छ । किसान सूचीकरणको गरिने उल्लेख छ ।
मालारानी गाउँपालिकाले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । उपाध्यक्ष दीपा पोखरेलले सार्वजनिक बजेटमा सडकलाई पिच गर्ने, कृषि, पर्यटन प्रवर्द्धन गर्दै स्थानीयलाई स्वरोजगार बनाउने उल्लेख छ । सुन्तला, फलफलु, कोदो खेती विस्तारसहित स्थानीय बालीको संरक्षण गर्दै बाँझो बारी नराख्ने र उत्पादन बढाउने लक्ष्य लिइएको छ । कृषि तथा पशु उद्यमशीलता विकास परियोजना बहुवर्षीय रुपमा सञ्चालन गर्ने भएको छ । सामुदायिक स्कुलको शैक्षिक गुणस्तरवृद्धि गर्ने, सबै नागरिकको स्वास्थ्य सेवा लगायत पुरानै कार्यक्रम तथा योजनालाई निरन्तरता दिइएको छ ।
त्यस्तै, पाणिनि गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेल गौतमले सार्वजनिक गरेको बजेटमा कृषि उत्पादनलाई जोड दिइएको छ । शिक्षामा सुधार, स्वास्थ्यमा सहज पहुँच, पूर्वाधार विकास, खेलकूद गतिविधि, पालिकाभित्रका सडकलाई सुधारसहित स्थानीय तथा युवालाई कृषि उद्यममा जोड्ने र रोजगारीका अवसर सृजना गर्ने उल्लेख छ ।
छत्रदेव गाउँपालिका उपाध्यक्ष मनी पन्थीले ल्याएको बजेटमा पनि पुरानै कार्यक्रम र योजनालाई निरन्तरता दिइएको छ । पालिकाभित्र शैक्षिक गुणस्तर वृद्धि गर्ने, कृषि उद्यमलाई महत्त्व दिइएको छ ।
