लुम्बिनी प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गरेका सबै मन्त्रीलाई कपिलवस्तु कांग्रेसले बहिष्कार गर्ने

असार ९, २०८२

मनोज पौडेल

Kapilvastu Congress will boycott all ministers represented by Congress in Lumbini region

काठमाडौँ — नेपाली कांग्रेस जिल्ला समितिले लुम्बिनी प्रदेश सरकारमा प्रतिनिधित्व गरेका कांग्रेसका सबै मन्त्रीलाई जिल्लाका सार्वजनिक तथा पार्टीका कार्यक्रमहरूबाट बहिष्कार गर्ने निर्णय सार्वजनिक गरेको छ ।

पार्टी जिल्ला अध्यक्ष अब्दुल कलामद्वारा हस्ताक्षरित विज्ञप्तिमा असार १ गते प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम तथा बजेटप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा जिल्ला पार्टीको निर्णय लत्त्याउँदै मनोमानी ढंगले बजेट विनियोजन गरिएको आरोप लगाइएको छ ।

विकासका कार्यक्रमहरू जिल्लामा न्यून देखिएको, संघीयताको भावना र मर्म विपरीत पहुँचवालाहरू र स्वयं मन्त्रीहरूको निर्वाचन क्षेत्रमै बढी र अस्वाभाविक योजना पारिएको भन्दै विरोध जनाइएको छ ।

'बजेटको अधिकांश हिस्सा प्युठान, अर्घाखाँची र गुल्मीमा मात्र देखिन्छ,' पार्टी जिल्ला अध्यक्ष कलामले भने, 'कपिलवस्तुलाई हेपिएको छ । के तीन वटा जिल्ला मात्रै लुम्बिनी प्रदेशमा पर्छन् ? बाध्य भएर यस्तो कठोर निर्णय लिनु परेको हो ।'

मन्त्रीहरू सच्चिएनन् भने थप कठोर निर्णय लिनुपर्ने अवस्था आउने उनले चेतावनी दिएका छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully