पहिरोले आर्यभन्ज्याङ्–जब्गादी–रामपुर सडक अवरुद्ध

असार ९, २०८२

माधव अर्याल

Aryabhanjyang-Jabgadi-Rampur road blocked by landslides

पाल्पा — अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ्देखि जब्गादी हुँदै रामपुर जाने सडक सोमबार बिहानैदेखि अवरुद्ध भएको छ ।

४९ किलोमिटर लामो यो सडकको आर्यभन्ज्याङ् नजिकै बुढीकोट क्षेत्रमा ढुंगासहितको पहिरो खसेको छ । यस्तै हुमीनको रिगैरा, ताँहुको धोवादी नजिकै, बीरकोट, सेफत, सिलुवा लगायतका क्षेत्रमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

पूर्वका माथागढी, पूर्वखोला, रम्भा, निस्दी गाउँपालिकाका साथै रामपुर नगरपालिका केही भागमा जाने सवारी साधन यही सडक भएर गुड्छन् । सडक अवरुद्ध भएपछि सवारी साधन चल्न सकेको छैन । 

सडक चौडा गरेका र स्तरोन्नतिका लागि डोजर लगाएका स्थानमा पहिरो खसेको छ । चिदीपानी, हुमीन, ताँहु, बीरकोट, पूर्वखोला, जल्पा, ज्यामिरे, अर्चले, सिलुवा, जब्गादी लगायत दर्जनौं स्थानमा जाने सवारी साधन यही सडक भएर सञ्चालन हुनेगर्छ ।

वीरकोट, खल्लुकभन्ज्याङ्, सेफत, जब्गादी, सिलुवा, वेलडाँडा लगायतका स्थानमा बाटो अधिक बिग्रेको छ । सडक डिभिजन कार्यालय पाल्पाले पहिरो सफा गर्न डोजर पठाएको जनाएको छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully