पाल्पा — विपद् व्यवस्थापन समितिको निर्णयविपरीत खोलामा जेसीबी र ट्याक्टर लगेर ढुंगा निकाल्ने काम रोकिएको छैन । सडक डिभिजन कार्यालयमार्फत् ठेक्का भएका कामका लागि निर्माण व्यवसायीले विपद् व्यवस्थापन समितिको निर्णयविपरीत खोलामा जेसीबी र ट्याक्टर लगेर ढुंगा निकालेका हुन् ।
तिनाउ गाउँपालिका–५, चर्चरे र गौडे पुलबीचको भागमा खोलामै जेसीबी लगेर दुई सातायता ढुंगा फोर्ने, निकाल्ने गरिएको छ । स्थानीय बासिन्दाका अनुसार बिहानदेखि बेलुकीसम्म जेसीबी लगाएर डुम्रे खोला (तिनाउ) मा ढुंगा फोर्ने गरेको छ । सडक डिभिजन कार्यालयअन्तर्गत भगवती कन्स्ट्रक्सनले चर्चरे नजिकै प्लम कंक्रिट वाल लगाउने ठेक्का लिएको छ । यो वाललगायत विभिन्न स्थानमा सडकमा ढलानको कामा लिएको कन्स्ट्रक्सनले २०८१ मंसिर २८ गते असार १५ भित्र काम सक्नेगरी ठेक्का लिएको सडक डिभिजनका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए ।
उनका अनुसार केराबारी, पानीमिल, सिसुवा, कालीमाटीलगायतका स्थानमा ढलानसमेत गरी १ करोड ३१ लाख ६९ हजारमा ठेक्का सम्झौता भएको छ । निर्माण व्यवसायीले ७ महिनासम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । असार लागिसकेपछि काम गर्छु भन्दै खोलामा एक्साभेटर, ट्याक्टर लगेको भेटिएको हो ।
दैनिक खोलामा ठूला मेसिन देखेपछि तिनाउ गाउँपालिका–२, का पूर्ववडाध्यक्ष राजेश श्रेष्ठलगायतले सामाजिक सञ्जालमा तस्बिर राखेपछि तिनाउ गाउँपालिकाका कर्मचारी पुगेर आइतबार जेसीबी लगाउन रोकिएको छ । तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुका अनुसार कार्यालय खुलेपछि कर्मचारीले आइतबार चाबी ल्याएर बुझाएका छन् । ‘असार १ गतेपछि खोलामा जेसीभी, टिपर, ट्याक्टर लैजान नपाउने निर्णय भएको छ,’ उनले भने, ‘यसविपरीत खोलाको ढुंगा निकालेकाले आर्थिक ऐन अनुसार दण्ड जरिवाना हुनेछ ।’ उनले चाबी नियन्त्रणमा लिएकाले जसको भए पनि लिन आउने बताए ।
सिद्धार्थ राजमार्गको छेवैमा प्रहरी, प्रशासन, स्थानीय सरकार, जिल्ला समन्वय समिति सबैले देखे पनि नदेखेझैं गरेकाले असार १ गतेपछि पनि खोलामा एक्स्काभेटर लगाएर ढुंगा निकालेको थियो । ‘एक्स्काभेटर लगाएर खोलामै ट्याक्टरमा ढुंगा ओसार्दा सरोकारवाला मौन बसेपछि नदी बचाउन र ठेकेदारको लापर्बाही तथा स्थानीय सरकारको निरीहपन देख्दा सबै पक्षको ध्यान जाओस् भन्ने लाग्यो,’ निवर्तमान वडाध्यक्ष श्रेष्ठले भने, ‘राजमार्गकै छेउमा विभिन्न बाहानामा खोलामा स्काभेटर लगाउँदा जानकारी दिनुपर्छ भन्ने लागेको हो । प्रहरी प्रशासन चुप लाग्छ देख्दैन र बोल्दैन ।’
प्रमुख जिल्ला अधिकारी तोयनाराण सुवेदीले गत जेठ २० गतेको बैठकमै सबै पालिकाको उपस्थितिमा खोलामा असार १ गतेदेखि डोजर, एक्स्काभेटर, ट्याक्टर, टिपरलगायत लैजान नदिने भन्ने निर्णय भएको बताए । ‘सडक डिभिजनको ठेक्काको कामका लागि खोलामा लगेको भन्ने बुझिएको छ,’ उनले भने, ‘तर वर्षायाम लागिसकेपछि लैजान पाइँदैन ।’
निर्माण व्यवसायीले विभिन्न बहाना बनाएर असार लागेपछि बल्ल काम गर्न आएको छ । विगतमा काम गरेको थियो तर केही समय काम नगरि छाडेको थियो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पहिरो गएको स्थानमा सडक डिभिजनले काम गरेको जानकारी पाएको बताए । सडक डिभिजनका प्रमुख रामपुकार जयसवालले निर्माण व्यवसायीले काम गर्छु भनेको अवस्थामा ढुंगा नपाएर रोकिनुपर्ने अवस्था आउने भन्दै जानकारी गराएको प्रमुख खनालले बताए । ‘निर्माण व्यवसायीले ठेक्का लागेको महिनौंसम्म काम नगर्ने वर्षायाम सुरु भएपछि काम गर्नु नियत राम्रो होइन,’ उनले भने ।
राहत र उद्धारका कामबाहेक जेसीबी, ट्याक्टर, टिपर सञ्चालन गर्न नपाइने भन्ने छ । साविक जिल्ला विकास समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म चुनढुंगा खानी तथा खोला, नदीलगायत कच्ची सडकमासमेत टिपर, ट्याक्टर सञ्चालन गर्न रोक लगाउने गरेको थियो ।
