तिलोत्तमा — रुपन्देहीमा एक युवाको हत्या भएको छ। शुक्रबार बिहान बुटवल उपमहानगरपालिका–९, कालिकापथस्थित आईसीआई पथमा गुल्मीको मालिका गाउँपालिका–६ घर भएका २९ वर्षीय ज्योति विकको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार बिकको हत्या उनकै साथीले ढुङ्गा प्रहार गरेर गरेका थिए ।
हत्या आरोपमा प्रहरीले अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थायी घर भई हाल रुपन्देहीको सैनामैना नगरपालिका–६ मा बसोबास गर्दै आएका बालकृष्ण न्यौपानेलाई पक्राउ गरेको छ। मानिसको हत्या भएको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धानका क्रममा न्यौपानेलाई बुटवल–८ सुख्खानगरबाट पक्राउ गरेको हो। उनले टाउकोलगायतका भागमा ढुङ्गाले प्रहार गरी विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सडक आश्रितका रूपमा रहेका उनीहरूबीच आपसी विवादका क्रममा झगडा हुँदा घटना भएको प्रहरीको अनुमान छ। अभियुक्तमाथि रुपन्देही जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
