यानीमाया, साइँली बरै, साइँलीजी, मायाली गीतका भाकाले रुकुम पूर्व रन्किँदा उसैगरी अनेक चालका नाचहरूले पनि मोहित पार्छन्
रुकुम पूर्व — रुकुम पूर्व, लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला । यहाँका विशेषगरी जनजातिको मौलिक भाषा, कला र संस्कृतिले जोकोहीलाई पनि तान्छ । बस्ने घरदेखि लगाउने पोसाक अनि भाषामा त विविधता छ नै, यहाँका दर्जन बढी मौलिक गीत र नाचको पनि छुट्टै पहिचान छ ।
गीतका लयमा मिसिएको संगीत अनि अनेकन् नाचले जोकोहीको मन तान्छ । संगीतको लहरोमा दर्शक–श्रोता मज्जैले बाँधिन्छन् । यहाँका सर्जक तथा मौलिक गीत–संगीतका अध्येता तिलक रोका भन्छन्, ‘रुकुम पूर्वका तीन गाउँपालिकाहरू भूमे, पुथाउत्तरगंगा र सिस्नेमा आ–आफ्नै गीतका भाका र नृत्यका ताल छन् ।’
उनका अनुसार, गीतमध्ये पहिलो हो– लस्के । पहिलो टुक्का उठाउने, दोस्रो फर्काउने अनि फेरि तेस्रो उठाएर चौथो फर्काउने गरेर जम्मा चार टुक्काको यो गीत रुकुम पूर्व र रोल्पाका जनजाति महिला तथा पुरुषले मौका पर्दा बाह्रैमास गाउँछन्, रमाउँछन् । अर्को गीत छ– फाक । खासगरी दसैं–तिहार, चैतेदसैं र राँके संक्रान्तिमा गाइने यो गीत दुई टुक्काको हुन्छ । यो पनि महिला–पुरुष दुवैले गाउँछन् ।
त्यसपछि आउँछ नानिला गीत । विशेषगरी पुथाउत्तरगंगातिर गाइने यो गीत ४ टुक्काको हुन्छ । सँगसँगै बाह्रैमास हुने विभिन्न रमाइला जमघटमा गाइने दुई टुक्काको यानीमाया, साइँली बरै/साइँली जी र मायाली अनि चार टुक्काको साइँली गीत पनि यस भेगमा प्रचलित छ ।
यहाँका मगर समुदायले बर्सेनि भव्यताका साथ मनाउने भुम्या पर्वका बेला गाइने छुट्टै गीतहरू छन् । भुम्याका लागि फूल टिप्न जाने बेला चौतारामा औंला फाटेर अनि लेकका फूलको नाम लिएर गाउने भाका हो– चा सराल्ने गीत । अनि भुम्या पर्वका बेला फूल टिप्ने बेला नेपालैमा गीत गाइन्छ भने फूलका नामहरू भन्दै न्याहो गीत गाइने रोका बताउँछन् ।
उल्लेखित १२ थरी गीतका भाकामध्ये यानीमायाबाहेक अरू सबै गीत आफूले संकलन गरेर रेकर्ड गरेको रोकाको भनाइ छ । ‘अघिल्लो पुस्तामा यी गीतबारे राम्रोसँग थाहा भए पनि पछिल्लो पुस्तामा बेवास्ता बढ्दै जान थालेकाले म संग्रह गर्ने काममा लागेको हुँ,’ उनले भने, ‘पछिल्लो समय बिस्तारै यी गीतले ठाउँ पाउन थालेका छन्, यसको निरन्तरता जरुरी छ ।’
यस प्रकारका विभिन्न भाका र गीतसँगै यस भेगमा नृत्य पनि थरीथरीका छन् । पहिलो हो– भूमे नाच । हरेक वर्ष जेठ सुरुदेखि असार पहिलो सातासम्म विधिपूर्वक मनाइने यो चाडमा भूमिको पूजा गरिन्छ अनि माथि उल्लिखित भाकाहरू गाउँदै भूमे नाच नाचिन्छ । रोकाका अनुसार यो नाचमा २२ चाल हुन्छन् । तर पछिल्लो समय सबै चालमा भने नाचिँदैन किनभने यसबारे ज्ञानको दायरा नै साँघुरो हुँदै गएको छ । अर्को छ नचारु नाच । पुरुषहरू मात्र नाच्ने यो नाच जीवन र युद्धकलासँग जोडिएको छ । यो चैतेदसैं, राँके संक्रान्ति वा दसैंमा औपचारिक फुकुवा गरेर नाचिन्छ र यो नाचको २२ पनि चाल हुन्छन् ।
