थरीथरी गीत, थरीथरी नाच

यानीमाया, साइँली बरै, साइँलीजी, मायाली गीतका भाकाले रुकुम पूर्व रन्किँदा उसैगरी अनेक चालका नाचहरूले पनि मोहित पार्छन्

असार ६, २०८२

महेश केसी

Thirathari song, tharithari dance

रुकुम पूर्व — रुकुम पूर्व, लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला । यहाँका विशेषगरी जनजातिको मौलिक भाषा, कला र संस्कृतिले जोकोहीलाई पनि तान्छ । बस्ने घरदेखि लगाउने पोसाक अनि भाषामा त विविधता छ नै, यहाँका दर्जन बढी मौलिक गीत र नाचको पनि छुट्टै पहिचान छ ।

गीतका लयमा मिसिएको संगीत अनि अनेकन् नाचले जोकोहीको मन तान्छ । संगीतको लहरोमा दर्शक–श्रोता मज्जैले बाँधिन्छन् । यहाँका सर्जक तथा मौलिक गीत–संगीतका अध्येता तिलक रोका भन्छन्, ‘रुकुम पूर्वका तीन गाउँपालिकाहरू भूमे, पुथाउत्तरगंगा र सिस्नेमा आ–आफ्नै गीतका भाका र नृत्यका ताल छन् ।’ 

उनका अनुसार, गीतमध्ये पहिलो हो– लस्के । पहिलो टुक्का उठाउने, दोस्रो फर्काउने अनि फेरि तेस्रो उठाएर चौथो फर्काउने गरेर जम्मा चार टुक्काको यो गीत रुकुम पूर्व र रोल्पाका जनजाति महिला तथा पुरुषले मौका पर्दा बाह्रैमास गाउँछन्, रमाउँछन् । अर्को गीत छ– फाक । खासगरी दसैं–तिहार, चैतेदसैं र राँके संक्रान्तिमा गाइने यो गीत दुई टुक्काको हुन्छ । यो पनि महिला–पुरुष दुवैले गाउँछन् । 

Thirathari song, tharithari dance

त्यसपछि आउँछ नानिला गीत । विशेषगरी पुथाउत्तरगंगातिर गाइने यो गीत ४ टुक्काको हुन्छ । सँगसँगै बाह्रैमास हुने विभिन्न रमाइला जमघटमा गाइने दुई टुक्काको यानीमाया, साइँली बरै/साइँली जी र मायाली अनि चार टुक्काको साइँली गीत पनि यस भेगमा प्रचलित छ । 

यहाँका मगर समुदायले बर्सेनि भव्यताका साथ मनाउने भुम्या पर्वका बेला गाइने छुट्टै गीतहरू छन् । भुम्याका लागि फूल टिप्न जाने बेला चौतारामा औंला फाटेर अनि लेकका फूलको नाम लिएर गाउने भाका हो– चा सराल्ने गीत । अनि भुम्या पर्वका बेला फूल टिप्ने बेला नेपालैमा गीत गाइन्छ भने फूलका नामहरू भन्दै न्याहो गीत गाइने रोका बताउँछन् । 

उल्लेखित १२ थरी गीतका भाकामध्ये यानीमायाबाहेक अरू सबै गीत आफूले संकलन गरेर रेकर्ड गरेको रोकाको भनाइ छ । ‘अघिल्लो पुस्तामा यी गीतबारे राम्रोसँग थाहा भए पनि पछिल्लो पुस्तामा बेवास्ता बढ्दै जान थालेकाले म संग्रह गर्ने काममा लागेको हुँ,’ उनले भने, ‘पछिल्लो समय बिस्तारै यी गीतले ठाउँ पाउन थालेका छन्, यसको निरन्तरता जरुरी छ ।’ 

Thirathari song, tharithari dance

यस प्रकारका विभिन्न भाका र गीतसँगै यस भेगमा नृत्य पनि थरीथरीका छन् । पहिलो हो– भूमे नाच । हरेक वर्ष जेठ सुरुदेखि असार पहिलो सातासम्म विधिपूर्वक मनाइने यो चाडमा भूमिको पूजा गरिन्छ अनि माथि उल्लिखित भाकाहरू गाउँदै भूमे नाच नाचिन्छ । रोकाका अनुसार यो नाचमा २२ चाल हुन्छन् । तर पछिल्लो समय सबै चालमा भने नाचिँदैन किनभने यसबारे ज्ञानको दायरा नै साँघुरो हुँदै गएको छ । अर्को छ नचारु नाच । पुरुषहरू मात्र नाच्ने यो नाच जीवन र युद्धकलासँग जोडिएको छ । यो चैतेदसैं, राँके संक्रान्ति वा दसैंमा औपचारिक फुकुवा गरेर नाचिन्छ र यो नाचको २२ पनि चाल हुन्छन् । 

Thirathari song, tharithari dance

Thirathari song, tharithari dance

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully