सिद्धार्थ राजमार्गको पाल्पा खण्ड १० घण्टापछि एकतर्फी खुल्यो

असार ६, २०८२

माधव अर्याल

Palpa section of Siddharth highway opened one way after 10 hours

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्ड १० घण्टापछि एकतर्फी खुलेको छ । राजमार्गको तानसेन–बुटवल खण्डअन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान र सिद्धबाबा बीचमा ठूलो ढुंगासहित पहिरो खसेपछि बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध थियो । 

वर्षा निरन्तर भएको र रातको समयमा सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । दोभान प्रहरी चौकीदेखि तल्लो सिद्धबाबासम्म दर्जनभन्दा बढी स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको स्थानीय बासिन्दा विष्णुप्रसाद पाण्डेयले बताए । दोभानदेखि तल्लो सिद्धबाबासम्म सुरुङमार्ग निर्माणको काम भइरहेको छ । पुरानो सडकमा डोजर लगाएर चौडा गरिएकाले पनि थप पहिरोको जोखिम छ । 

चौडा गरिएका क्षेत्रको सडकमा ठूलाठूला ढुंगासहितको पहिरो खसेको थियो । राजमार्ग अवरुद्ध हुँदा बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु र त्यसतर्फबाट बुटवल, भैरहवातर्फ जाने सवारीसाधन र यात्रु बाटोमै अलपत्र परेका थिए । एकतर्फी खुलेसँगै रातिदेखि अलपत्र परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ । 

दोभान प्रहरी चौकीका अनुसार सडक डिभिजन र सुरुङमार्ग आयोजनाअन्तर्गत चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको डोजर तथा एक्स्काभेटर लगाएर सडक खुलाइएको हो ।

दोभानदेखि सिद्धबाबा क्षेत्रमा पानी पर्दा र घाम लाग्दा पनि दिनहुँ खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको छ । यो सडक भएर केही दिनयता पोखरा तथा कालीगण्डकी करिडोर सडक हुँदै नारायणगढ र काठमाडौं जाने सवारी साधनसमेत गुडेका छन् ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully