बारबर्दियामा १ सय ५० बढी घर डुबानमा

असार ६, २०८२

कमल पन्थी

More than 150 houses flooded in Barbardia

बर्दिया — शुक्रबार बिहान ३ बजेदेखि परेको वर्षाले बर्दियाको बारबर्दिया नगरपालिका–७ दंगपुरुवामा १ सय ५० बढी घर डुवानमा परेका छन् । खोलामा आएको बाढीले दुई वटा रांगा, एउटा गोरु मरेको र एउटा बगाएको बारबर्दिया नगरपालिका विपत व्यवस्थापन समितिका संयोजक पुस्कल विकले बताए ।

डुबान क्षेत्र बारबर्दियामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पुगेर उद्धार सुरु गरेको छ । यसैबीच बारबर्दिया नगरपालिकामा विपत व्यवस्थापनको बैठक बसेर उद्धार र राहतकाबारे छलफल सुरु भएको प्रमुख प्रशासकीय अधिकृत टिकाराम गोसाइले जनाए ।

डुबान ग्रस्त क्षेत्रमा विपत व्यवस्थापन समितिका सदस्य खटिएका छन् । यसैगरी ठाकुरद्वारा नगरपालिकाको १ र ४ वडा डुबानमा परेकाछन । ठाकुरबाबा नगरपालिका–१ र ४ मा करिब दर्जन घर डुबानबाट प्रभावित भएका छन् ।

पानी निकास नभएका कारण डुबानमा परेको स्थानीयले बताएका छन् । ठाकुरबाबा नगरपालिकाका मेयर तिलक लम्सालले चुरे क्षेत्रबाट बगेको पानीले दर्जन बढी घर डुबानमा परेको बताए ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले बिहान ३ बजेदेखि लतपुर, बर्गादही, रम्मापुर, रानिजरुवा र कुम्रागाउँमा रहेको वर्षायाम केन्द्रमा अतिभारी वर्षा भइरहेकोले प्रमुख नदी लगायत खोलामा जलस्तर बढ्न सक्ने हुँदा तटीय क्षेत्रमा बस्दै आएकाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय, बर्दियाद्वारा जारी सूचनामा भनिएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully