पाल्पा र नवलपुरको सिमानामा प्रहरी पोस्ट स्थापना

असार ५, २०८२

माधव अर्याल

Police post established on the border of Palpa and Nawalpur

पाल्पा — कालीगण्डकी करिडोर सडकअन्तर्गत पाल्पा र नवलपुर जिल्लाको सिमाना निस्दी गाउँपालिका–१, बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । 

नागरिकलाई शान्ति सुरक्षा प्रदान, सवारी दुर्घटना न्यूनीकरण, कालीगण्डकी करिडोर भएर हुन सक्ने चोरी निकासी तथा अवैध गतिविधि नियन्त्रण गर्न बाकामलाङको भोटाहामा प्रहरी चौकी स्थापना गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए । 

नेपाल प्रहरीको यो ८ सय ८८ औं अस्थायी प्रहरी चौकी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए । यहाँ प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरीले कालीगण्डकी करिडोर सडकसँगै निस्दी गाउँपालिका–१, बाँकामलाङ र सहलकोटका नागरिकलाई सेवा दिनेछ । 

निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकाले चौकी सञ्चालनका लागि आवश्यक साथ र सहयोग गर्ने बताए । ‘कालीगण्डकी करिडोर सडक सञ्चालन भएसँगै प्रहरी चौकीको आवश्यकता महसुस भएको थियो,’ उनले भने, ‘यस क्षेत्रका बासिन्दाले चौकी स्थापनाका लागि धेरै वर्षदेखि माग गर्दै आएकाले पनि अहिले खुसी नहुने कुरै भएन ।’

कालीगण्डकी नदी नजिकै रहेको र नदीजन्य सामग्रीको चोरी निकासी नियन्त्रण गर्नका लागि यहाँ स्थापना भएको प्रहरी चौकीले सहयोग पुग्ने निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताए । 

बाँकामलाङका वडाध्यक्ष यम बहादुर रानाले दुई जिल्लाका सिमानामा स्थापना भएको प्रहरी चौकीले यस क्षेत्रका बासिन्दाका साथै ट्राफिक नियम उल्लंघन गर्नेहरुमा कमी आउने बताए ।

साविक बाकामलाङ गाविसले नै प्रहरी चौकीका लागि जग्गा खरिद गरेर पटकपटक जिल्ला प्रहरी कार्यालयसँगै गृह मन्त्रालयमा माग पत्र पेस गर्दै आएको निस्दी गाउँपालिका–१, का निवर्तमान वडाध्यक्ष पूर्ण बहादुर खाँणको भनाइ छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully