परासी — वर्षाको कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ -बुटवल खण्डमा सवारी आवागमनमा समस्या आएकाले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
विनयी खोलको डाइभर्सन पटकपटक बाढीले बगाउने गरेको छ भने दाउन्नेमा सडक चिप्लो भएका कारण अहिले पनि यातायात सञ्चालन गर्न असहज छ ।
जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डीएसपी मधु नेपालले दाउन्नेमा सडक चिप्लो, हिलो र डाइभर्सनले गर्दा सामान्य पानी पर्दा पनि यातायात सञ्चालन गर्न नसकिने अवस्था आएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल र काठमाडौंबाट पश्चिम जाने सवारीसाधन मुग्लिङ, पोखरा, स्याङ्जा हुँदै बुटवल , पश्चिमबाट पूर्व जाने सवारीसाधन बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यमा जान र साना सवारीलाई कालिगण्डकी करिडोर सडक प्रयोग गर्न आग्रह गरेको छ ।
दाउन्नेमा सडक चिप्लो हुँदा अहिले पनि दाउन्ने-दुम्कीबासमा सवारीको जाम छ । बुधबार करिब १५ घण्टापछि खुलेको यातायात गएराति पानी परेयता अवरुद्ध भएको हो ।
