नवलपरासी — पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने सडकको हिलोमा फसेको गाडी निकाल्न नसक्दा राजमार्गको ६५ किलोमिटर लामो जाम परेको छ । दाउन्नेमा ३० घण्टाअघिदेखि राजमार्ग ठप्प छ ।
महेन्द्रराजमार्ग हुँदै पूर्व पश्चिम हिँडेका गाडीको जाम ६५ किलोमिटर टाढासम्म पुगेको छ । प्रहरीले दाउन्नेमा गाडीको चाप नहोस भनेर गाडी रोकिदिएका कारण त्यतिलामो जाम परेको हो ।
पश्चिम नवलपरासीको बडेरादेखि पूर्वी नवलपरासीको कावासोतीसम्म राजमार्गमा लामो जाम छ । वर्षादका कारण दाउन्न्नेको दलदलमा फसेका गाडी हिँडाउन नसक्दा यात्रुले सास्ती खेपेका छन् ।
दाउन्नेको विश्वकर्मा मन्दिर नजिक सडकको हिलोमा फसेका गाडि ३० घण्टादेखि निकाल्न सकिएको छैन । बुधवार साँझ राजमार्ग सुकेर केहीबेर एकतर्फी यातायात सञ्चालन भए पनि राती साढे ८ बजे परेको वर्षादका कारण फेरी हिलाम्य सडकमा गाडि फसेर राजमार्ग अवरुद्ध भएको हो ।
बिनयी खोलाको डाइभर्सन सडकमा बुधबार साँझ करिब २ घण्टा यातायात सञ्चालन हुन दिएर प्रहरीले फेरि गाडि रोकिदिएको छ । डिएसपी मधुआचार्यले बिहीबार बिहान एक सार्वजनिक सूचना जारी गरेर दाउन्नेमा राजमार्गको अवस्था खराब भएका कारण अन्यराजमार्गबाट आउजाउ गर्न अनुरोध गरेको छ ।
पूर्व–पश्चिम जानेगाडि बुटवल पोखरा मुग्लिन सडक हुँदै र कालीगण्डकी सडकको प्रयोग गर्न यात्रुलाई आह्वान गरेको छ । सामान्य वर्षा हुनासाथ दाउन्ने सडक हिलाम्य भएर गाडी चिप्लिने गरेको प्रहरीले जनाएको छ । दाउन्ने सडक खण्ड विस्तारका क्रममा भत्काएर छोडेका कारण त्यहाँ हिलैहिलोमा फसेका गाडीका कारण ३० घण्टादेखि जाम छ ।
