बोल्न र सुन्न नसक्ने सन्तानको उपचारमा सघाउन अभिभावकको गुहार

असार ४, २०८२

दीपेन्द्र बडुवाल

Request of parents to help in the treatment of children who cannot speak or hear

भैरहवा — रूपन्देहीको सिद्धार्थनगर–९ स्थित एक परिवारले आफ्ना दुवै सन्तान बोल्न र सुन्न नसक्ने भएको जनाउँदै उनीहरूको उपचारका लागि आर्थिक सहयोग गर्न गुहार गरेका छन् । उपचारका लागि ४० लाख हाराहारी खर्च लाग्ने चिकित्सकले बताएपछि आमा–बाबुले जुम्ल्याहा छोराको उपचारका लागि सहयोगको अपिल गरेका हुन् ।

कपिलवस्तुको वाणगंगा–३ स्थायी घर भएर अहिले भैरहवामा बस्दै आएका सन्तराम तथा सुनिता थारुले आफ्ना ४ वर्षीय दुई छोरा एरिक र इभानको उपचारका लागि सघाउन आह्वान गरेका हुन् । दुवै बालक बोल्न र सुन्न सक्दैनन् । बुधबार यहाँ पत्रकार सम्मेलन गरेर छोराको उपचारमा आर्थिक सहयोग गर्न आग्रह गरेका हुन् । एरिक र इभानमा जन्मजात यस्तो समस्या देखिएको हो । 

काठमाडौंस्थित शिक्षण अस्पतालमा जाँच गराउँदा चिकित्सकले शल्यक्रियामार्फत ‘कक्लियर इम्प्लान्ट’ राखे दुवैले सुन्न सक्ने बताएको आमा सुनिताले बताइन् । ‘कक्लियर इम्प्लान्ट’ एक इलेक्ट्रोनिक मेडिकल उपकरण हो । यसलाई शल्यक्रियाद्वारा प्रत्यारोपित गरिन्छ र भित्री कानको क्षतिग्रस्त भागलाई बाइपास गरेर श्रवण तन्त्रिकालाई प्रत्यक्ष रूपमा सक्रिय बनाउँछ । यसले गर्दा मस्तिष्कले यसका संकेतलाई ध्वनिका रूपमा सुन्न सक्ने क्षमता विकास गर्छ ।

दुई छोराको कानमा ‘कक्लियर इम्प्लान्ट’ राख्न ४० लाख रुपैयाँ हाराहारी खर्च लाग्ने चिकित्सकले बताएपछि अत्तालिएर फर्किएको उनीहरूले बताए । ‘हामीसँग त्यति ठूलो रकम छैन,’ सुनिताले भनिन्, ‘कसैले आर्थिक सहायता गरिदिएमात्रै बाबुहरूको उपचार गर्न सक्छौं । होइन भने उनीहरू कान नसुन्ने हुने भए ।’ चिकित्सकले कान सुन्ने भएपछि बालकलाई तीन महिना स्पिच थेरापी गराएरमा बोल्न सक्ने हुने बताएको सुनिताको भनाइ छ ।

दुवै जनाको कानमा यो उपकरण राख्दा ३० लाख यसैको मात्र पर्ने र शल्यक्रियासहित उपचार गर्दा ४० लाख लाग्ने परिवारको भनाइ छ । भदौभित्र शल्यक्रिया गरी दुवै जनाको कानमा ‘कक्लियर इम्प्लान्ट’ राख्न चिकित्सकले सुझाव दिएकाले आफूहरूले आर्थिक सहायताका लागि आग्रह गरेको उनीहरूको भनाइ छ ।

‘हाम्रो घरको आर्थिक अवस्था उक्त उपचार खर्च धान्न सक्ने अवस्थामा छैन । सबै संस्था तथा व्यक्तिगततर्फबाट सहयोग भएमा अवोध बच्चाहरूको सुन्न सक्ने र बोल्न सक्ने गरी उपचार गर्न सम्भव हुने थियो,’ सुनिताले भनिन । बोल्न र सुन्न नसक्ने यी बालक पनि यही संसारका अमूल्य हिस्सा भएकाले जतिसक्दो सहयोग गर्न थारु परिवारको आग्रह छ ।

दीपेन्द्र बडुवाल

Link copied successfully