पाल्पाली ढाकाकी संस्थापक महर्जनलाई ‘दीर्घसेवा सम्मान’

असार ४, २०८२

माधव अर्याल

Maharjan, the founder of Palpali Dhaka, is honored for long service.

पाल्पा — तानसेन नगर प्रज्ञा प्रतिष्ठान, तानसेन नगरपालिकाले दीर्घ सेवा सम्मानबाट पाल्पाली ढाका कपडाकी संस्थापक ८७ वर्षीया पूर्णमाया महर्जनलाई नगदसहित सम्मान गरेको छ।

प्रतिष्ठानले पाल्पालाई चिनाउने पाल्पाली ढाकाका संस्थापक महर्जनलाई नगद ६८ हजार, ताम्रपत्र, दोसल्लासहित सम्मानित गरेको हो। तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिङ्जाली, नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति चोलेश्वर शर्माले सम्मान गरेका हुन्।

ढाका संघ पाल्पाकी अध्यक्षसमेत रहेकी महर्जनका श्रीमान् स्वर्गीय गणेशमान महर्जनले भारतमा ढाका बुनकर सीप सिकेर आएपछि वि.सं. २०१५ मा पाल्पामा दम्पतीले ढाका कपडा बुन्न सुरु गरेका हुन्। अहिले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ।

Maharjan, the founder of Palpali Dhaka, is honored for long service.हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको दाबी पूर्णमायाको छ। उमेरले ८७ पुगिसक्दा पनि व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारको ढोका खोलिदिएको बताउँछिन्।

पाल्पाली ढाकाबाट साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायतका सामान उत्पादन हुन्छ। सुरुमा परिवारले धानेको व्यवसाय यसलाई बढाउँदै वि.सं. २०२० देखि कामदार राखेर ढाका बुन्दै आएको छ।

पाल्पा जिल्लामा तीन दर्जन बढी ढाका कपडा उद्योगी तथा व्यापारी छन्। तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुसुमखोला, चिर्तुङ्धारा, बीरकोट, फोक्सिङकोट, पालुङमैनादी, बन्दीपोखरा, अर्गलीमा ढाका कपडा बुन्ने गर्छन्। ढाकाबाट महिलाको दरिलो आयस्रोत बनेको छ। यसअघि नगर प्रज्ञा प्रतिष्ठानले ३५ जना पाल्पामा साहित्य, कला, संस्कृति लगायत विभिन्न क्षेत्रमा योगदान गर्नेहरूलाई सम्मान गरिसकेको छ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully