बर्दिया — राजापुर र ठाकुरबाबा नगरपालिकाका युवा महिलालाई कृषिमा आत्मनिर्भरका लागि कृषि सामग्री वितरण गरिएको छ ।
राजापुर नगरपालिका–४ र ठाकुरबाबा नगरपालिका–९ मा करिब तीन दर्जन युवा महिलालाई प्लान इन्टरनेसनल, युनिस्को बाल क्लब बाँकेले एक समारोहबीच ती सामग्री वितरण गरेको हो ।
वितरण गरिएका कृषियन्त्रमा कुटो, कोदालो, टनेल, जस्तापाता, ग्यास सिलिन्डर, बिउ लगायतका सामग्री रहेका छन् । एक जनालाई करिब २४ हजार मूल्य बराबरका ती सामग्री वितरण गरिएको क्लबका अध्यक्ष रवि मानन्धरले बताए ।
'विषादी रहित तरकारी खेती, बेत बास उद्योग सञ्चालन गरी स्वरोजगार बनाइ आत्मनिर्भर गर्ने उद्देश्य रहेको छ,’ उनले भने, ‘यसका लागि बाल विवाह न्यूनीकरण गर्ने उद्देश्य पनि हो ।' युवा महिलाले तालिम लिएपछि ती सामग्री प्राप्त गरेका हुन् । १८ देखि २३ वर्ष उमेर समूहका युवा महिला तालिममा सहभागी थिए ।
