रूपन्देही र कपिलवस्तुमा एआई प्रविधिबाट सारसको अध्ययन गरिँदै

१० वर्षअघि र पछि खिचिएको तस्बिरलाई एआई माध्यमबाट पाइथन सफ्टवयेरमार्फत विश्लेषण गरिने

असार ३, २०८२

मनोज पौडेल

Storks are being studied through AI technology in Rupandehi and Kapilvastu

लुम्बिनी — सुन्दर र मनमोहक पन्छी सारसको अध्ययन नयाँ प्रविधि एआईबाट गर्न थालिएको छ । नेपालमा चरामाथि पहिलोपटक यस्तो प्रविधिबाट अध्ययन सुरु गरिएको हो । 

भक्तपुर बहुमुखी क्याम्पस र लुम्बिनी ग्रिन युथ क्लबद्वारा बेइजिङ फरेस्ट युनिभर्सिटी चीनको प्राविधिक सहयोगमा लुम्बिनी आसपास अध्ययन थालिएको छ । युनिभर्सिटीको प्राविधिक टोलीले लुम्बिनी छेउछाउका तेलार, दानव नदी, गजेडी र गैडहवा तालमा विश्वकै दुर्लभ पन्छी सारसको तस्बिर खिचेको छ । त्यस्तै, लुम्बिनी–तौलिहवा सडकखण्डका विभिन्न ठाउँ, दोहनी, जगदीशपुर, निग्लिहवा, सिसहनिया र तुल्सीडिहवामा पनि सारसको तस्बिर लिइएको छ ।

१० दिनमा रुपन्देही र कपिलवस्तुमा गरेर ३२ हजार स्न्यापभन्दा बढी तस्बिर खिचिएको हो । युनिभर्सिटीको यही प्राविधिक टोलीले सन् २०१५ मा नेपाल आएर यिनै ठाउँमा तस्बिर खिचेको थियो । त्यसबेला २४ हजार स्न्यापभन्दा बढी तस्बिर लिएको थियो ।

१० वर्षअघि र पछि खिचिएको तस्बिरलाई एआई माध्यमबाट पाइथन सफ्टवयेर प्रयोग गरेर अनुसन्धान गरिने भक्तपुर बहुमुखी क्याम्पसका शिक्षण सहायक दिक्पालकृष्ण कर्माचार्यले बताए । '१० वर्षअघि तस्बिर खिचेका सारस अहिले छन् कि छैनन् भन्ने यो अनुसन्धानले देखाउँछ,' उनले भने, 'यसले सारसको आयु पनि थाहा लगाउन सहयोग गर्छ ।'

रुपन्देही-कपिलवस्तु अन्तरजिल्लामा सारसको आवागमन कस्तो छ, एक ठाउँ गुड बनाएका सारसले अर्को ठाउँ बनाउँछन् कि बनाउँदैनन्, एउटा जोडीले गुँड लगाएको ठाउँमा अर्को जान्छ कि जाँदैन भन्ने थाहा पाउन सहयोग पुग्ने उनले बताए ।

Storks are being studied through AI technology in Rupandehi and Kapilvastu

यस्तो अध्ययनले सारसको आनीबानीबारे तथ्यपरक जानकारी पाइने र संरक्षणको योजना बनाउन सहयोग पुग्ने लुम्बिनी ग्रिन युथ क्लब अध्यक्ष अर्जुन कुर्मीले बताए । 

सबैजसो स्न्याप जीपीएस तथ्यांकसहित खिचिएको छ । अनुसन्धानकर्ताका अनुसार अनुहार र दाँयाबायाँ तीनतिरबाट एउटा सारसको तस्बिर खिचिन्छ । सारस देख्दा एउटैजस्तो लागे पनि सबैको अनुहार फरक हुने प्राणीशास्त्री दिक्पालकृष्ण कर्माचार्यले बताए । पन्छी संरक्षण संघ (बीसीएन) का कार्यसमिति सदस्य समेत कर्माचार्य फरक सारस छुट्याउने माध्यम घाँटीदेखि माथि अनुहारको भाग रहेको बताउँछन् ।

'सारसका तस्बिर सफ्टवयेरमा राखेर त्यसबाट आउने नतिजालाई विश्लेषण गरेर परिणाम निकालिन्छ,' उनले भने, 'करिब ३ महिना लगाएर बेइजिङ फरेस्ट युनिभर्सिटीका प्राविधिकले तथ्यांक तयार गरी हामीलाई पठाउनेछन् । चरामा गरिएको यस्तो अनुसन्धान दक्षिण एसियामै पहिलोपटक हो ।' यस्तै प्रविधिको प्रयोग चीनमा पहिलोपटक भर्खर कालीकण्ठ सारसमा गरिएको छ ।

विश्वकै ठूलो वन विज्ञान विश्वविद्यालयमा पर्ने वेइजिङ फरेस्टका एक प्रोफेसर र कालीकण्ठ सारसमा विद्यावारिधि गरिरहेका शोधार्थीले अनुसन्धानमा सहयोग गरिरहेका छन् ।

'नयाँ प्रविधिबाट चरा अध्ययन नेपालमा पहिलोपटक हो,' चराविद् डा. हेमसागर बरालले भने, 'यसले सारसबारे थाहा नभएका धेरै कुरा बाहिर ल्याउन मद्दत गर्छ । संरक्षणमा नयाँ आयाम थप्छ । पर्यापर्यटनको विकासमा योगदान गर्छ ।'

दुई जिल्लामै ६ सय सारस

हेर्दा चित्ताकर्षक अग्लो मनमोहक सारसलाई सबैले मन पराउँछन् । प्रेम र समपर्णको प्रतीक मानिने सारसलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाले 'नगर पंक्षी' घोषणा गरेको छ । भारतको उतर प्रदेशले यसलाई 'राज्य पन्छी' घोषणा गरेको छ । नेपालको वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित सूचीमा राखेको ९ पन्छी प्रजातिमध्ये सारस एक हो । चीनमा पनि सारसलाई पहिलो श्रेणीको राष्ट्रिय संरक्षित वन्यजन्तु मानिएको छ । कालीकण्ठ सारसलाई तिब्बतको राजधानी ल्हासाको 'सहर पन्छी'का रूपमा राखिएको छ ।

२०८० मा गरिएको एक अध्ययनले नेपालमा ६ सय ९० सारस रहेको देखाएको थियो । जसमा करिब ६ सय सारस कपिलवस्तु र रुपन्देहीमा पाइएको चराविद् डा. हेमबहादुर कटुवालले बताए । यसकारण सारसका लागि यी दुई जिल्ला हटस्पट हुन् ।

Storks are being studied through AI technology in Rupandehi and Kapilvastu

कम देखिन थालेपछि सन् २००० मा सारसलाई विश्व दुर्लभ पन्छीमा सुचीकृत गरिएको थियो । उड्न सक्ने चरामध्ये सबैभन्दा अग्लो चरा यही हो । बालीलाई नोक्सान पुर्‍याउने शंखे लगायतका किरा खाने भएकाले बाली संरक्षणमा यो चराको भूमिका देखिन्छ । नजिकै चितुवा, बाघ, भालुलगायत जन्तु आउन लागे पहिले नै कराएर जानकारी दिने विज्ञहरू बताउँछन् ।

सारसले ३१ देखि ३४ दिनमा बच्चा कोरल्छ । विश्वमामा पाइने १५ प्रजातिमध्ये नेपालमा चार प्रजातिका सारस पाइन्छन् । जसमा सारस, कर्‍याङकुरुङ सारस, लक्ष्मण सारस र कालीकण्ठ सारस छन् । कर्‍याङकुरुङ, लक्ष्मण र कालीकण्ठ हिउँदे आगन्तुक हुन् । यी सारस हिउँदमा उत्तरी ध्रुवबाट बसाइँसराइ गरेर नेपाल हुँदै दक्षिणी भेगतिर लाग्छन् भने केही यहीँ बस्छन् । चीनमा भने ९ प्रजातिका सारस पाइन्छ । 

उभिँदा यसको उचाइ झन्डै दुई मिटर हुन्छ र यसले दुईवटा पखेटा फिजाउँदा झन्डै तीन मिटर लामो हुन्छ । यसको तौल ६ देखि १० केजीसम्म हुन्छ । यो सर्वभक्षी (ओम्निभर) प्रजाति हो । यसले वनस्पति (बिउबिजन र तिनका जरा) र सर्प, कीराफट्यांग्रा, गड्यौला खान्छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully