रुकुम पूर्व — केही वर्षअघि ‘अर्गानिक जिल्ला’ घोषणा गरिएको रुकुम पूर्व नाम मात्रैको ‘अर्गानिक जिल्ला’ भएको भन्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले चिन्ता व्यक्त गरेका छन् । कागजी रुपमा र घोषणा गर्नका लागि अर्गानिक जिल्ला भनिएपछि योजनाअनुसार काम हुन नसक्दा आपेक्षित परिणाम आउन नसकेको उनको भनाइ छ ।
जिल्ला सदरमुकाम रुकुमकोटमा मंगलबार आयोजना गरिएको ‘रुकुम पूर्वको पर्यटन विकास तथा पोखरासँग सम्बन्ध विस्तार कार्यक्रम’ मा उनले यस्तो बताएका हुन् । ‘हामीसँग भएका अनेक नीतिगत जटितका कारण अर्गानिक जिल्लाका रुपमा घोषित विषयले प्रभावकारिता पाउन सकेन,’ उनले भने, ‘किसान पनि दुई प्रकारका छन्, एउटा छ असली किसान जो काम गरेर उत्पादनमा जोडिएको छ । अर्को छ फाइल किसान जो कागजी रुपमा सबै चटचुट पारेर बसेको छ तर उत्पादन छैन । त्यही फाइल किसानले नेतादेखि कर्मचारीसम्मलाई घेराबन्दीमा पारेको छ । अन्ततः यस प्रकारका विभिन्न घोषणा खालि घोषणामा मात्रै सीमित भएका छन् ।’
सभामुख घर्तीले विभिन्न घरायसी प्रयोजनका लागि उत्पादन गरिने भाङ्गोलाई गाँजा भनेर नामकरण गरिँदा यो लागुपदार्थका रुपमा मात्रै बुझिएको बताए । यसलाई कानुनी रुपमै खेती र बिक्री–वितरण गर्न पाउनुपर्ने कुरामा उनले जोड दिए ।
कार्यक्रममा पोखराबाट आएका पर्यटन व्यवसायी र जिल्लाका सरोकारवालाबीच अन्तरक्रिया भएको थियो ।
