तिलोत्तमामा ९ दिने क्यान्सर जाँच शिविर सुरु

असार २, २०८२

सन्जु पौडेल

9 days cancer screening camp started in Tilottama

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकामा महिला तथा युवतीको पाठेघर र स्तन क्यान्सरको जाँच शिविर सुरु भएको छ । सोमबार सेमराबजार स्वास्थ्य चौकीबाट पाठेघर र स्तन क्यान्सरको जाँच शिविर सुरु गरिएको हो ।

शिविर नगरका विभिन्न ९ वटा स्वास्थ्य संस्थामा सञ्चालन हुनेछ । शिविरमा पहिलो दिन १ सय ८४ जनाले सेवा लिएकोमा १४ जनाको रिपोर्ट पोजिटिभ देखिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले जानकारी दिए । त्यस्तै ३ जनालाई आङ खस्ने समस्या देखा परेको उनले बताए । उनीहरूलाई थप परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको उनले बताए ।

शिविरको उद्घाटन गर्दै नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमाका कुनै पनि महिलाले स्तन र पाठेघरको क्यान्सरबाट मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले वार्षिक रूपमा बजेट विनियोजन गरी यो कार्यक्रम आयोजना गरेको बताए । नगरका २४ जना नर्सलाई क्यान्सर रोगको लक्षण, उपचार विधि तथा समस्याग्रस्त अवस्था आए कहाँ जाने भन्ने परामर्श प्रदान गर्न तालिम दिइएको र अब हरेक स्वास्थ्य चौकीमा नियमित रूपमा निःशुल्क जाँच सेवा दिइने नगरप्रमुख खाणले बताए ।

कार्यक्रममा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरका लागि विगतका वर्षमा पनि शिविर सञ्चालन गरेको र अहिले पनि निरन्तरता दिइए पनि महिलाहरूले त्यसतर्फ चासो नदिएको गुनासो गरिन् । उनले रोगमाथि हेलचेक्र्याइँ गर्दा समस्या बल्झिने र ठूलो धनराशि खर्च हुने भएकाले यसतर्फ ध्यान दिनुपर्ने जनाइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरबासीलाई स्वस्थ राख्न यो कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए । उनले यस्ता शिविरले नगरभित्रका महिला दिदीबहिनीलाई स्वास्थ्यप्रति चासो बढाउन सघाउने बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully