आगामी वर्षबाट करार कर्मचारीलाई यस योजनमा जोडिने
गुल्मी — गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पेन्सन योजना सम्झौता गरेको छ । गाउँपालिका र नागरिक लगानी कोषबीच स्वास्थ्य स्वयंसेविकालाई पेन्सन दिने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा साउनबाटै सुरु हुनेगरी ७७ जनाको प्रति स्वयंसेविका वार्षिक १० हजार रुपैयाँका दरले नागरिक लगानी कोषमा गाउँपालिकाले जम्मा गरिदिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
कम्तीमा १५ वर्षसम्म स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गरेको र ६० वर्ष उमेर पुगेका स्वास्थ्य स्वयंसेविकाले पेन्सन पाउने गरि पेन्सन योजना सुरु गरेको पाण्डेले बताए ।
गाउँपालिकामा हाल ७७ जना स्वास्थ्य स्वयंसेविका रहेका छन् । जून स्वास्थ्य चौकी मातहात रहेर बिशेष गरि खोप, गर्भवती महिला र पोषण लगायत स्वास्थ्यको भुँइ तहको सबै प्रकारको सेवामा स्वास्थ्य स्वयंसेसिवका खटिएका छन् । रुरुक्षेत्रमा प्राथामिक स्वास्थ्य केन्द्र १, स्वास्थ्य चौकी ६ र आयुर्वेद औषधालय २ गरी ९ स्वास्थ्य संस्था रहेका छन् ।
स्वास्थ्य स्वयंसेविकाले हाल संघीय सरकारबाट यातायत खर्च मासिक १ हजार र स्थानीय पालिकाबाट संचार खर्च मासिक ५ सय रुपैयाँ मात्रै पाउने गरेका छन् । पेन्सन योजनामा जोडिएपछि स्वास्थ्य स्वयंसेविकाकोले सेवा निवृत्तपछि ठूलो राहत हुने पालिकाको अपेक्षा छ ।
रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीबीच स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना संचालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस योजना अनुसार गाउँपालिकाले वार्षिक ७ लाख ७० हजार रुपैयाँ स्वास्थ्य स्वयंसेविकाको लागि खर्च गर्नेछ । जून रकम हालका लागि नागरिक लगानी कोषमा जम्मा भई भविष्यमा पेन्सनका रुपमा स्वास्थ्य स्वयंसेविकाले प्राप्त गर्नेछन् ।
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले स्वास्थ्य स्वयंसेविकाको सामाजिक सुरक्षामा प्रभावकारी योजना रुरुक्षेत्रले अगाडि बढाएकोमा यो सबै पालिकाका लागि उदाहरणीय बनेको बताए । उनले नागरिक लगानी कोषको लाभांश, ब्याजदर र पालिकाले जम्मा गरिदिएको रकमबाट पेन्सन प्रदान हुने बताए ।
विभिन्न उत्तरचढावले फरक–फरक पर्ने भए पनि हालकै अवस्थाअनुसार रुरुक्षेत्र गाउँपालिकाले जम्मा गरिदिएको रकमअनुसार स्वास्थ्य स्वयंसेविकाले मासिक १ हजार ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म पेन्सन पाउनेछन् ।
रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले स्वास्थ्य क्षेत्रमा समाजमा खटिएर काम गर्ने स्वास्थ्य स्वयंसेविकाको लागि मनोबल बढाउनका लागि पेन्सन योजना अगाडि बढाएको बताए । ‘अहिले खटिएर काम गरेपछि दीर्घकालीन फाइदा पनि हुनुपर्छ’, उनले भने, ‘हामीले उहाँहरू (स्वयंसेविका) लाई प्रोत्साहन स्वरुप यो योजना ल्याएका हौं ।’
उनले स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको र हालसम्मको योगदानको कदर गर्दै महत्वपूर्ण योजनामा जोडेको बताए । गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकासँगै अब पालिकाका करार कर्मचारीलाई पनि यस सम्झौता जोड्ने तयारी गरेको छ ।
