रूकुम पूर्व — खाम मगर जातिहरूको मुख्य पर्व 'भुमे' आज रूकुम पूर्वमा भव्यताका साथ मनाईदैं छ। बिशेषगरी मगरहरूको बाहुल्यता भएको भुमे र पुथाउत्तरगंगा गाउँपालिकाबासीहरूले बलपुजा गरेर यो चाड मनाउन लागेका हुन् ।
यहाँको रिती परम्परा अनुसार पुथाउत्तरगंगा गाउँपालिकाको माथिल्लो भेग (हुकाम-मैकोट र आसपास)मा चैत मसान्तमा नोगोबाङ्गे फुकएर बैशाखमा बलपुजा गरेर मनाईसकिएको पालिका अध्यक्ष पुणिराज घर्तीले बताए । 'पालिकाको तल्लो भेग (तकसेरा र आसपस)मा जेठ मसान्तमा नोगोबाङ्गे फुकाएर लेकबाट बुकी टिपेर आज गाउँमा झरेर बलपुजा गर्ने चलन छ ।'
उनले भने, 'आज देखि ५ गतेसम्म भुमे नाच नाचेर यो चाड मनाउदैछौं ।'
यसैगरी भुमे गाउँपालिकामा पनि यो चाडलाई आज भव्यताका साथ मनाइँदैछ । वैशाखे पुर्णिमामा नोगोबाङ्गे फुकाएर सुरू भएको भुमे कतै हिजो र बाँकी ठाउँमा आज भुमे पुजा गरेर भव्यताका साथ मनाउने पालिका अध्यक्ष होमप्रसाद श्रेष्ठले जनाए ।
'बिशेषगरी आज लुगुममा भुमे पुजा हुन्छ । अनि यही महिनाको ३, ५ अथवा ७ गते सम्म भुमे नाचेर यसको समापन गर्ने गरिन्छ ।' भुमे पुजाको अवसरमा सम्बन्धित समुदायका लागी आज रूकुम पूर्व संगै रोल्पा, प्यूठान र दाङमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
