कपिलवस्तु — कृषि क्षेत्रको प्रवर्द्धन गर्दै कृषकको सम्मान गर्ने उद्देश्यले आयोजित एग्रीवस्तु कृषि तारा–२०८२ प्रतियोगिताको प्रथम पुरस्कार बुद्धभूमि नगरपालिकाका तरकारी कृषक बहरैची केवटले पाएका छन् ।
केवटले नगद एक लाख रुपैयाँ, सम्मान पत्र र ट्रफी प्राप्त गरेका थिए । पुरस्कार राशि र प्रमाणपत्र पूर्वमन्त्री दीपकुमार उपाध्यायले प्रदान गरेका थिए ।
दीपकुमार उपाध्याय च्यारिटेबल ईनिसिएटिभद्वारा आयोजित एग्रीवस्तु कृषि तारा–२०८२ प्रतियोगिताको दोस्रो पुरस्कार बुद्धभूमि नगरपालिकाका तरकारी कृष्णमोहन केवटले प्राप्त गरेका थिए । उनले नगद ७५ हजार रुपैयाँ, सम्मानपत्र र ट्रफी प्राप्त गरेका छन् । त्यस्तै, एग्रीवस्तु कृषि तारा तृतीय पुरस्कार शिवराज नगरपालिकाका मौरीपालक कृषक कृष्णलाल भारतीले प्राप्त गरेका थिए । उनले नगद ५० हजार रुपैयाँ, सम्मानपत्र र ट्रफी प्राप्त गरेका थिए ।
त्यस्तै, विदेशबाट फर्किएर कृषि पेशामा लागेका बाणगंगा नगरपालिकाका दलबहादुर रानाले ५० हजार रुपैयाँ राशिको एग्रीवस्तु उत्कृष्ट कृषि उद्यमी पुरस्कार पाएका छन् । ५० हजार रुपैयाँ राशिको एग्रीवस्तु उत्कृष्ट महिला पुरस्कार शिवराज नगरपालिकाकी महिला कृषक दुर्गा अर्यालले पाएकी छिन् ।
कार्यक्रममा ५ जना कृषकलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । सान्त्वना पुरस्कार पाउनेमा सत्यभामा केवट, सन्तोषकुमार चौधरी, रामबहादुर थारु, सत्यनारायण थारु र वैभवप्रताप शाह रहेका थिए । सान्त्वना पुरस्कार प्राप्त गर्नेलाई कृषि उपकरण प्रदान गरिएको थियो । कृषि नै अर्थतन्त्रको मेरुदण्ड, आशा, भरोसा भएकाले कृषकलाई उत्साहित बनाउन सम्मान गरिएको एग्रीवस्तु प्रालिका प्रबन्धक निर्देशक आशिष शर्माले बताए । एग्रीवस्तु प्रालिले जिल्लामा मुलुककै अत्याधुनिक कोल्डस्टोर सञ्चालन गर्दै आएको छ ।
एग्रीवस्तु कृषि तारा पुरस्कारका लागि ९० कृषकले आवेदन गरेका थिए । मौरीविद् अनिरुद्धनाथ शुक्लाको संयोजकत्वमा गठित ५ सदस्यीय मूल्याकन समितिले प्राप्त आवेदनको अध्ययन गरी क्षेत्रफल, उत्पादन र फिल्ड अनुगमन लगायतका आधारमा पुरस्कृतको नाम छनोट गरेको थियो ।
