बुटवल — बुटवल–गोरुसिङ्गे सडक निर्माणको गति सुस्ताएको छ। तीव्र गतिमा काम अघि बढेको सडक निर्माणमा पछिल्लो एक महिनामा कामदार अभावले सुस्ताएको हो । काम भइरहेका अधिकांश स्थानमा कामदार नभएपछि अहिले निर्माण ठप्प छ ।
वाल र पुल निर्माणका काम पनि रोकिएका छन् । तर, शिलान्यास भएको ४ महिनामा सडकको भौतिक प्रगति भने १० प्रतिशत पुगेको छ । वित्तीय प्रगति ५ दशमलव ५ प्रतिशत छ ।
सडक निर्माणमा कार्यरत कामदारहरू प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ गएपछि निर्माणाधीन सडकमा निर्माण व्यवसायीलाई कामदार अभाव भएको हो । त्यस्तै, पुल निर्माणमा कार्यरत मुस्लिम समुदायका कामदारहरू इद मनाउन घर गएर फर्केका छैनन् । पुल र डन्डीको काममा ९० प्रतिशत कामदार मुस्लिम समुदायका छन् ।
अहिले डन्डीका काम गर्ने कामदार अभाव भएपछि पुल निर्माणको काम रोकिएको बुटवल–गोरुसिङ्गे सडक आयोजनाका प्रमुख इन्जिनियर कुलशता न्यौपानेले बताइन् । ‘पुल र डन्डीको काम गर्ने कामदारहरू धेरै मुस्लिम समुदायका थिए, उनीहरू अहिले इद मनाउन गएका छन्, त्यसैले पुलको काम सबै रोकिएको छ,’ उनले भनिन्, ‘वाल र नाली निर्माणमा कार्यरत धेरै कामदार अहिले प्रधानमन्त्री रोजगार कार्यक्रममा गएकाले पनि कामदार अभाव भएको छ ।’ इद मनाउन गएका कामदारहरू अब फर्किने तयारीमा रहेकाले केही दिनमै पुलको काम तीव्र हुने उनले बताइन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत रूपन्देही र कपिलवस्तु खण्डमा भइरहेको सडक विस्तारको काममा हालसम्म रुख कटान, विद्युत् पोल स्थानान्तरण, नाली निर्माण र पुल निर्माणका काम भइरहेका छन् । झन्डै ५० किलोमिटर सडक खण्डमा रूपन्देहीतर्फ निर्माण हुने २० पुलमध्ये हाल १२ वटा पुलको फाउन्डेसनअन्तर्गत पाइल क्यापको काम सकेर सब स्ट्रक्चरको काम सुरु भएको छ ।
सब स्ट्रक्चर भनेको पुलका पिलरको जगको काम सकेर बीच खण्डको काम हो । त्यसपछि सुपर स्ट्रक्चरको काम सुरु हुनेछ । सुपर स्ट्रक्चरको काममा पुल ढलानको काम हुनेछ । त्यस्तै, १७ वटा कल्भर्ट निर्माणको काम पनि अहिले चलिरहेको इन्जिनियर अशोक पौडेलले बताए ।
सडक विस्तारका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा सम्झौता गरेका छन् । निर्माण कम्पनीले हालसम्म पेश्कीवापत मोबिलाइजेसन खर्चमा ५५ करोड ७७ लाख र बिलवापत ४७ करोड ४६ लाख गरी कुल १ अर्ब ३ करोड रुपैयाँ भुक्तानी लिएको सडक परियोजनाका सूचना अधिकारी एवं लेखा प्रमुख राजेन्द्र आचार्यले बताए ।
सडकको रूपन्देही खण्डतर्फ १९ ठाउँमा आरसीसी ढलान र रिटेनिङवालको काम चलिरहेको छ । सालण्डी पश्चिम र सैनामैनाको सरौलीमा अहिले माटो फिलिङको काम पनि चलिरहेको छ । त्यस्तै, कपिलवस्तुतर्फ ८ वटा पुलको पाइल फाउन्डेसनको काम अन्तिम चरणमा पुगेको छ । सडक खण्डकै सबैभन्दा लामो ३ सय मिटर लम्बाइको पुल बाणगंगा नदीमा रहेको र त्यसको फाउन्डेसनको काम ६० प्रतिशत सकिएको इन्जिनियर जिगेसप्रसाद चौधरीले बताए । ‘तीन सय मिटर लामो पुलमा ११ वटा फाउन्डेसन निर्माण गर्नुपर्नेछ,’ उनले भने, ‘तीमध्ये ५ वटा निर्माण भइसकेका छन् र अन्यको पनि काम जारी छ।’
यस्तै, कपिलवस्तुतर्फ १९ वटा कल्भर्ट निर्माण गर्नुपर्नेमा ९ वटा अन्तिम चरणमा पुगेका छन् र अन्य १० वटामा पनि निर्माणको काम चलिरहेको उनले बताए । इद सकिएको र असार लागेपछि प्रधानमन्त्री रोजगार कार्यक्रममा गएका कामदार पनि फर्किने भएकाले फेरि कामले गति लिने उनले बताए । सडकको पहिलो चरणमा रूपन्देहीमा ३० र कपिलवस्तुमा १९ किलोमिटर सडक विस्तार गरिनेछ । त्यस्तै, दोस्रो चरणमा गोरुसिङ्गेदेखि चन्द्रौटासम्मको १९ किलोमिटर खण्डमा काम हुने सडक विभागले जनाएको छ ।
