रुकुम पूर्व — केन्द्रीय प्रसारण लाइन पुगेको रुकुम पूर्वका विभिन्न गाउँमा विद्युत् सेवा नियमित नहुँदा यहाँका स्थानीय आजित भएका छन् । बेला–बेलामा बिजुली आउने–जाने गर्दा व्यापार, व्यवसायका साथै सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर परेको छ ।
बिजुली कतिबेला आउँछ र कतिबेला जान्छ भन्ने कुनै टुंगो नहुँदा सेवा दिन कठिन भइरहेको जिल्ला सदरमुकाम रुकुमकोटमा होटल व्यवसाय गरिरहेका जीवन केसीले बताए । ‘जोड्न त हामीले व्याकअप जोडेका छौं तर कहिले त यति लामो समय बिजुली जान्छ कि त्यो नै चार्ज हुन पाउँदैन,’ उनले भने ‘यसले गर्दा हामीलाई व्यावसायिक रूपमा काम गर्न र सेवा दिन कठिन भइरहेको छ ।’
अहिले बिजुली नभएर व्यापार–व्यवसायसँगै अरू पनि धेरै काम रोकिने भएकाले बिजुली नियमित हुन जरुरी रहेको भन्दै रुकुमकोट उद्योग वाणिज्य संघका अध्यक्ष केवेन्द्र गौतमले गुनासो गरे, ‘विद्युत् सेवा नियमित गर्न प्राधिकरणले आफ्नो तरिकाले काम गरिरहेको होला । तर हामीलाई भने चाहिएका बेला बिजुली नआउँदा समस्या भइरहेको छ । यसको समाधान भनेको यहाँ चाँडो भन्दा चाँडो सव–स्टेसन बन्नु नै हो ।’
झण्डै एक दशकअघि केन्द्रीय प्रसारण लाइनको पहुँचमा जोडिएको रुकुम पूर्वमा हालसम्म कुल ४३ सय ग्राहक भएको नेपाल विद्युत् प्राधिकरण रुकुम पूर्व वितरण केन्द्रका प्रमुख प्रमोद खनालले जानकारी दिए ।
जिल्लाको सिस्ने गाउँपालिका वडा ५ र ६, भूमे गाउँपालिकाको वडा नं. १, २, ३, ४, ५, ६ र ८ तथा पुथाउत्तर गाउँपालिकाको वडा नं. १०, ११, १२ र १४ मा विद्युतको केन्द्रीय लाइन पुगेको बताउँदै केन्द्र प्रमुख खनालले जिल्लामा विद्युत् सेवा नियमित हुन नसकेको स्विकार गरे ।
‘सुरुमा ३३ केभी लाइन दाङबाट रुकुम पश्चिमको धैरेनीचौरस्थित सव–स्टेसनमा आउने र त्यहाँबाट मध्यपहाडी लोकमार्ग छेउ–छेउ हुँदै जिल्लासम्म आउँछ,’ उनले भने, ‘धैरेनीचौरबाट करिब २ सय किलोमिटर लामो दूरीसम्म ११ केभी लाइन वितरण गरिएको छ । यति लामो दूरीमा कुनै ठाउँमा समस्या आउने बित्तिकै सव–स्टेसनबाटै लाइन ब्रेक गरेर मर्मत गर्नुपर्छ । यसकारण पनि विद्युत् सेवा नियमित हुन नसकेको हो ।’
जिल्लाभर नियमित विद्युत् सेवा प्रदान गर्न आफूहरूले सक्दो कोसिस गरिरहेको बताउँदै केन्द्र प्रमुख खनालले सिस्नेको धौलापहिरा र भूमेको काँक्रीमा सव–स्टेसनको काम निकै सुस्त गतिमा भइरहेको बताए । यी दुई ठाउँमा सव–स्टेसन बनेपछि मात्रै जिल्लाभर विद्युत् सेवामा प्रभावकारिता आउने उनको दाबी छ । यी दुई सव–स्टेसनमा रोल्पातर्फबाट ३३ केभी लाइन ल्याएर जिल्लाभर विद्युत् सेवा विस्तार गर्ने प्राधिकरणको योजना छ ।
