बर्दिया — सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बढैयाताल गाउँपालिकास्थित नेपाल–भारत सीमा नजिकबाट गत साउनयता १ सय २४ जना लागुऔषधका कारोबारीलाई पक्राउ गरेको छ ।
सीमावर्ती भारतसँग जोडिएको बर्दियाको बढैयाताल गाउँपालिका लागु औषधको हब बन्दै गएको छ । बढैयाताल गाउँपालिका–२ फुटाहा हुँदै भारतीय बजार बलैगाउँ बजार पुगिन्छ । करिब ५ सय मिटर भारतको जंगल हुँदै बलैगाउँ पुगिन्छ । बलैगाउँमा खुलेआम पाइने ब्राउन सुगर खरिद गर्न बर्दियाका मात्रै नभइ जुम्ला, दैलेख, तनहुँ, रुपन्देही, बाँके लगायतका जिल्लाबाट आउने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
नेपाल भारत सीमाना खुला र घना जंगल भएका कारण लागु औषध ब्राउन सुगरका कारोबारी र सेवनकर्ताका लागि सहज गन्तव्य मानिन्छ । प्रहरीले ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित बाँके बैजनाथ गाउँपालिका गाउँपालिका–४ तिलकपुरका २२ वर्षीय पारस थारुलाई पक्राउ गरेको छ । आइतबार भारतीय बजार बलैगाउँ हुँदै आउँदै गरेको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित चेकपोस्टमा शंका लागि जाँच गर्दा १ ग्राम ५ सय ४० मिलिग्राम उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
सोही दिन सोही पालिका–८ कण्ठपुरस्थित भारतको बलैगाउँबाट बागमती प्रदेश ०२०५५ प ७८५१ नम्बरको मोटरसाइकलमा सवार मधुवन नगरपालिका–७ का २६ वर्षीय सुरज सुनार र २७ वर्षीय सुमित विक १ ग्राम २ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परे । केही दिनअघि बासगढी नगरपालिका–५ बासगढी बजारका ३८ वर्षीय युवराज पौडेलबाट हरियो रंगको सुर्तीको डब्बाभित्र पहेँलो रंगको प्लास्टिकमा निलो रंगको धागोले बाँधी राखेको २ थान पुडियामा ४ सय मिलिग्राम उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक राजेश साहुका अनुसार यस चालु आवमा १ सय २४ जना लागऔषधका प्रतिवादी पक्राउ परेको बताए । 'सोही अवधिमा १ सय ३ ग्राम ३ सय २० मिलिग्राम ब्राउन सुगर, चरेस १२ केजी १ सय ६ ग्राम र गाजा १६ ग्राम ४४ ग्राम बरामद गरेका छौं,’ उनले भने, 'इप्रका हिरासतमा हाल १९ जना लागुऔषध मुद्दाका प्रतिवादी रहेका छन् ।'
क्षमताभन्दा बढी थुनुवा भएपछि थप १३ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर मुद्दा चलाएको छ । गत आवमा लागुऔषध ब्राउन सुगरका एक महिलासहित १ सय ८ जना पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय मैनापोखरले सोही अवधिमा ब्राउन सुगर १ सय ३० ग्राम ५ सय ५० मिलिग्राम पक्राउ गरेको थियो । सोही अवधिमा चरेस ३२ केजी ८ सय ७१ ग्राम बरामद गरेको थियो ।
बढैयाताल गाउँपालिकापछि गुलरिया र मधुवन नगरपालिका लागूऔषधको हब मानिन्छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डीएसपी चक्र डमरपालले बढैयाताल गाउँपालिका लगायत जिल्लामा गत साउनयता १ सय ८३ जना लागुऔषधका कारोबारी पक्राउ परेको बताए । आव ०८०/०८१ मा १ सय ९९ जना ब्राउन सुगर, चरेस, गाँजालगायत लागुऔषध ओसारपसार गर्ने पक्राउ परेको डीएसपी पालले भने, 'खुल्ला सीमाना भारतीय बजारमा खुलेआम बिक्री हुने भएका कारण लागुऔषधका तस्करको गन्तव्य बनाएका छन् ।' प्रहरीको सक्रियताका कारण लागुऔषधका कारोबारीदेखि सेवनकर्ता धमाधम पक्रिन थालेको प्रहरीको दाबी छ ।
भारतीय प्रहरीले ब्राउन सुगरका कारोबारीलाई कारबाही नगरेका कारण नेपाली युवाका लागि भारतीय बजार बलैगाउँ र लौकाही सहज गन्तव्य बनेको छ । भारतीय कानुनमा १० ग्रामसम्म ब्राउन सुगर पक्राउ गरेपनि कारबाही गर्न मिल्दैन । त्योभन्दा बढी भए कारबाहीको दायरामा मुद्दा दर्ता हुने गरेको भारतीय प्रहरी अधिकारीले बताए ।
