तिलोत्तमा — रुपन्देहीको भैरहवामा दर्ताबिना संचालित ८ क्लिनिक र २ ल्याब बन्द भएका छन् । जिल्लास्तरीय संयुक्त अनुगमन समितिले बुधबार अनुगमन गरी दर्ताबिनै संचालित १० वटा व्यावसायिक स्वास्थ्य संस्था बन्द गरेको हो ।
जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको बताए । ‘दर्ताबिनै गैरकानुनी रुपमा स्वास्थ्य संस्था संचालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो,’ उनले भने, ‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैरकानुनी रुपमा संचालिन रहेको पाइयो । कतिपय क्लिनिकले बिरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइयो, त्यस्तालाई तत्कालका लागि बन्द गरेका छौं ।’
रानाले दर्ता गरी मापदण्ड पूरा गरेर संचालन गर्न निर्देशनसमेत दिइएको जनाए । अनुगमन समितिले बन्द गरेका अधिकांश क्लिनिक फार्मेसीसँगै संचालित थिए । फार्मेसी संचालनको अनुमति लिए पनि क्लिनिक संचालन अनुमति नलिएको पाइएपछि बन्द गरिएको हो ।
बन्द गरिएका क्लिनिकमा सिद्धार्थनगरमा संचालित शिवम् क्लिनिक प्रालि, महादेजस फार्मेसीमा संचालित क्लिनिक, होमटाउन फार्मेसीमा संचालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा संचालित क्लिनिक, नेपाल चम्सा पसलमा संचालित क्लिनिक छन् । यस्तै, जीविका मेडिकल प्रालिमा संचालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एन्ड क्लिनिक छन् । यस्तै, लुम्बिनी प्थालोजी र न्यु ओम प्याथोलोजी ल्याब पनि बन्द गरिएको छ । बन्द गरिएका क्लिनिक र ल्याबहरु सिद्धार्थनगर १२, १३ र वडा ७ का हुन् ।
संचालन अनुमति नलिँदासम्म यी क्लिनिक र ल्याब संचालनमा रोक लगाइएको अनुगमन समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अनुगमनमा, सिद्धार्थनगर नगरपालिका, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी, सिद्धार्थ उद्योग वाणिज्य संघ, भीम अस्पतालका चिकित्सक, उपभोक्ता हित संरक्षण मञ्च, औषधि व्यवसायी संघ लगायतका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
