चार वर्षअघि लगाएका ठेक्काका काम सम्पन्न नहुँदा थप ठेक्का लाग्न सकेन
पाल्पा — संघीय सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा गाउँपालिका सडक पहुँचमार्ग स्तरोन्नति गर्न माग गर्दै पाल्पाको निस्दीमा युवाले धर्ना दिएका छन् । उनीहरूले सडक स्तरोन्नतिका लागि गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुलाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।
झन्डै ५० वर्षअघि रेखांकन भएको सडक स्तरोन्नतिको काममा ढिलाइ भएपछि युवाले ध्यानाकर्षण गराएका हुन् । कालीगण्डकी करिडोरको रामपुरदेखि बेलडाँडा–मित्याल–अरुणखोला सडक अन्तर्गत मित्यालमा गाउँपालिका कार्यालय छ । गाउँपालिका पहुँचमार्ग अन्तर्गत रामपुर–बेलडाँडा–मित्याल सडक पर्छ । यही सडक स्तरोन्नति हुन नसक्दा वर्षायाममा हिलो र हिउँदयाममा धुलोले सताउने गरेको हो ।
निस्दी गाउँपालिकाको मुख्य पहुँचमार्गको रूपमा रहेपनि स्तरोन्नतिमा ढिलाइ भएको छ । वर्षौँदेखि सडक अलपत्र भएपछि निस्दी आवाज युवासञ्जालका युवाले गाउँपालिका कार्यालयमा पुगेर धर्ना दिएका हुन् ।
विभिन्न नारा लेखिएका प्लेकार्डसहित युवाहरुले धर्ना दिएर ज्ञापनपत्र बुझाएको स्थानीय युवा कमल सारुले बताए । उनले सरकारको ध्यानाकर्षणका लागि सांकेतिक रूपमा धर्ना कार्यक्रम राखिएको बताए । स्थानीय प्रदेशदेखि संघ सरकारसम्मको ध्यानाकर्षण गराउन युवा जुटेर धर्ना कार्यक्रम राखेको उनले बताए । युवाले आगामी बजेटबाट यस सडक खण्डलाई विशेष महत्त्वका साथ पर्याप्त बजेट विनियोजन गर्न माग गरेको स्थानीय विमल क्षेत्रीले बताए । क्षतिग्रस्त सडक खण्डहरूको तत्काल निरीक्षण गरी मर्मतसम्भार गर्नुपर्ने उनले बताए । सडकको दीर्घकालीन स्तरोन्नति गर्न, सडकको स्तरोन्नति गर्न निश्चित र उपयुक्त समय सीमा निर्धारण गर्न ज्ञापनपत्रमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले पालिकाको पहुँचमार्गको सडक खण्ड स्तरोन्नतिको कार्यपालिका आफैंले गर्न नमिलेकाले समस्या भएको बताए । संघले काम गरिरहेको सडकमा प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गर्न नमिलेर स्तरोन्नतिमा ढिलाइ भएको उनले बताए । ‘संघले पर्याप्त बजेट विनियोजन नगर्ने भएकाले समस्या थपिएको हो,’ उनले भने, ‘ठेक्का लागेको काम पनि निर्माण व्यवसायीले समयमा नसक्दा थप समस्या भएको हो ।’
संघीय सरकार अन्तर्गत सडक डिभिजन पाल्पाको बेवास्ताले थप ढिलाइ भएको स्थानीय युवाले बताए । सडक डिभिजनले लगाएका ठेक्काका काम वर्षौँदेखि अलपत्र छन् । गाउँपालिका अध्यक्ष सारुले पालिकाले सडक स्तरोन्नतिका लागि निरन्तर ध्यानाकर्षण गराएको बताए । युवाहरूलाई रचनात्मक साथ र सुझाव दिन उनले आग्रह गरे । वर्षायाममा मात्र होइन हिउँदयाममासमेत रामपुर–मित्याल–अरुण्खालोला सडकमा चिप्लिनु, नतान्नु र हिलाम्मे भएर सवारी साधनले नतान्ने सामान्य भएको छ । समयमा स्तरोन्नति नहुँदा सवारी साधनका चालक र यस भेगका यात्रुले वर्षा र हिउँद जहिलेसुकै सास्ती भोग्दै आएका छन् ।
सडक डिभिजनले ठेक्का लगाउने तर निर्माण व्यवसायीले समयमा काम नगर्दा मित्यालको चिरुबास र मुढाबासको बीचमा पर्ने गुरुभन्ज्याङ क्षेत्रमा वर्षायाममात्र होइन हिउँदमासमेत सवारी साधन सञ्चालनमा कठिनाइ हुने स्थानीय यमबहदाुर सारु मगरले बताए । यहाँ गग्रेटो सडकले सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको छ । बेलडाँडादेखि मित्यालसम्म पनि अवस्था उस्तै छ ।
छोटो दुरीमै पहाडदेखि तराई पुग्ने यस भेगका बासिन्दाको सपना पूरा गर्न झन्डै पाँच दशक अघि सडक खन्न सुरु भएको थियो । १५ वर्षअघि ट्र्याक खुलेपनि अरुणखोला क्षेत्रमा ५ सय मिटर स्तरोन्नति नभएर ८ वर्षसम्म अलपत्र परेको थियो । स्थानीय तहको निर्वाचन भएपश्चात् अरुणखोलासम्म सडक स्तरोन्नति सकिएको छ । पाल्पातर्फ निस्दी गाउँपालिका–४, मित्यालको दक्षिण भागमा भने सडक डिभिजन कार्यालय पाल्पाले काममा ढिलासुस्ती गर्दा वर्षायाम मात्र नभई हिउँदयाममै सवारी साधन धकेल्नुपर्ने बाध्यता छ । वर्षायाममा चार महिना स्थानीयले जहिलेसुकै सास्ती खेप्दै आएका थिए । बेलडाँडादेखि अरुणखोला जलुकेघाटसम्मको २६ किलोमिटर सडक स्तरोन्नतिको काम अहिलेसम्म पूरा हुन सकेको छैन ।
२०७४ सालपछि निस्दी गाउँपालिका केन्द्र जोड्ने पहुँचमार्ग सडक यही हो । यही सडक अन्तर्गत पर्ने रामपुरदेखि गल्धा बेलडाँडासम्मको ७ किलोमिटर सडक २०६८ सालमा ओटासिल भएको थियो । मर्मत सम्भारको अभावमा सडकको कालोपत्र उप्किएर सवारी साधन सञ्चालन हुनै नसक्ने अवस्थामा पुगेको स्थानीय बासिन्दा तथा निस्दी गाउँपालिका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले बताइन् । उनका अनुसार मर्मतसम्भार नभएर सडकमा परेका खाल्डाखुल्डी र धुलाम्मे भएपछि सवारी साधनले रुट नै परिवर्तन गरेका छन् । साना सवारी साधन चल्नै नसक्ने गरी सडक बिग्रिएको छ ।
सडक स्तरोन्नतिको काममा ढिलासुस्ती हुँदा यात्रुले जहिलेसुकै सास्ती खेप्नु परेको हो । संघीय, प्रदेश र स्थानीय तहबीचको समन्वय अभावमा हरेक वर्ष विनियोजन हुने करोडौं बजेटको सही सदुपयोगसमेत हुन नसकेको उपाध्यक्ष श्रेष्ठको गुनासो छ । ‘जसले गर्दा सडक डिभिजनबाट हुने काममासमेत लापरबाही भएको छ,’ उनले भनिन्, ‘बजेट विनियोजन हुन्छ । ठेक्का पनि लाग्छ तर त्यसको सही ढंगले काम नहुँदा यस भेगका बासिन्दाले जहिलेसुकै सास्ती खेप्नु पर्ने बाध्यता छ ।’ गतवर्ष कमसल काम गरेको भेटिएपछि भत्काएर पुनः काम गर्न लगाएको उनले बताइन् ।
कालीगण्डकी करिडोरको रामपुरदेखि ४७ किलोमिटर दुरीमै महेन्द्र राजमार्ग पुग्न सकिन्छ । पछिल्ला वर्षमा संघीय सरकारले हरेक वर्ष कम्तीमा ५ करोड बढी बजेट विनियोजन भए पनि निर्माण व्यवसायीको लापरबाहीले काम अलपत्र हुने गरेको छ । अरुणखोलाको पाल्पा र पूर्व नवलपरासी जोड्ने जलुके घाटमा पक्की पुल निर्माण भएको छ तर त्यहाँसम्म पुग्ने सडक स्तरोन्नति नहुँदा चालक र यात्रुले सधैँ सास्ती खेप्नु परेको निस्दी गाउँपालिका–४, मित्यालका वडाध्यक्ष सन्तवीर सुनारीले बताए । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले रामपुर–मित्याल–अरुणखोला सडकमा विगतमा ठेक्का लागे पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा समस्या भएको बताए ।
