गण्डक नहरमा 'डिसिल्ट्रेसन' प्रविधि जडान, पानीको प्रवाह पूर्ण क्षमतामा

जेष्ठ २६, २०८२

नवीन पौडेल

Installation of 'Desiltration' technology in Gandak Canal, water flow at full capacity

परासी — गण्डक नहरअन्तर्गत पश्चिम सेक्टर पश्चिम नवलपरासीको नेपाली नहर पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । नारायणी नदीको बालुवा जम्मा भएर पानीको सतह कम हुँदा नेपाली किसानले सिँचाइ गर्न पाएका थिएनन् ।

अहिले नहरमा नदीको बालुवा जान रोक्ने प्रविधि (डिसिल्ट्रेसन) जडान गरेपछि नहर पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

सोमबार नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नवलपरासी पश्चिम १ का प्रतिनिधिसभा सदस्य विनोद चौधरीले डिसिल्ट्रेसन प्रविधिको उद्घाटन गरे ।

मन्त्री खड्काले किसानलाई सिँचाइका लागि सरकारले भूमिगत र पुराना आयोजनाका नहरको पनि स्तरोन्नति गरिएको बताए । गण्डक नहरबाट नेपाली किसानलाई अधिकतम फाइदा र १२ महिना पर्याप्त सिँचाइ सुविधाका लागि राज्यले काम गरिरहेको उनको भनाइ थियो ।

नेपाल-भारत गण्डक सम्झौताअन्तर्गत २०३९ सालमा निर्माण भएको नहरमा बालुवा भरिँदा सिँचाइ सुविधाबाट किसानले लाभ लिन नसकेकाले ३० करोड ४० लाखको लागतमा बालुवा रोक्ने प्रविधि जडान गरिएको प्रतिनिधिसभा सदस्य चौधरीले बताए । धानको बिउ राख्ने र रोप्ने समयमा नहरमा पर्याप्त पानी आएपछि यस क्षेत्रका किसान खुसी भएका छन् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully